मायादेवी अनलाइन, चन्द्रौटा ।
नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य चक्रपाणी खनालले माओवादी केन्द्र मुलुकको पहिलो पार्टी बन्ने उद्घोष गर्नुभएको छ । कपिलवस्तुको शिवराज नगर समितिको ऐतिहासिक प्रथम सम्मेलनलाई सम्बोधन गर्दै खनालले केपी ओलीकै कारण कम्युनिष्ट पार्टी छुट्टिने अवस्था आएको बताउनुभयो ।
देशमा रहेका सबै कम्युनिष्टहरुलाई एकजुट गराउने प्रचण्डको योजना केपी ओलीको स्वार्थका कारण पुरा हुन नसकेको बताउनुभयो । दश वर्षसम्म आन्दोलन गरि ल्याएको व्यवस्थामा अहिले अरु कसैले राज गरिरहेको बताउँदै अब यी व्यवस्था चलाउन सबै माओवादी आउने जिकिर गर्नुभयो ।
दुई पार्टी एक हुँदा कतिपय माओवादीका कर्मठ योद्धाहरु नै छुटेको हुँदा अब सबैलाई समेटेर पार्टीलाई मजबुत बनाउन नेता कार्यक्रतालाई आग्रह गर्नुभयो । ‘अब आउने निर्वाचनमा माओवादी पार्टी पहिलो दल बन्ने छ, त्यही अनुसार तपाईहरु काम गर्नुस’ खनालले भन्नुभयो– ‘संर्घषबाट आएको परिणामलाई व्यवहारमा उतार्ने जिम्मेवारी तपाई हाम्रो हो ।’
पूर्व मन्त्री समेत रहनुभएका खनालले विप्लवसँग पनि एकताको विषय अघि बढेको बताउनुभयो । विविध कारणले छुट्टिएका माओवादीहरु अब एक भएर निर्वाचन संगै जनताको सेवामा लाग्नुपर्ने तर्क राख्नुभयो । देशभर ८ लाख बढी माओवादीका कृयाशिल सदस्यहरु रहेको बताउँदै दश वर्षे आन्दोलनको समय भन्दा अहिले उल्लेखनीय सहभागिता रहेको जनाउनुभयो ।
सम्मेलनमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र शाहले जिल्लाका सबै पालिकाहरुमा शनिबार एकै साथ सम्मेलन सुरु भएको बताउनुभयो । पार्टीलाई बलियो बनाउन नयाँ नेतृत्व आवश्यक रहेको जिकिर गर्दै सम्मेलनले चयन गर्ने नेतृत्वलाई बधाई ज्ञापन गर्नुभयो । नगर अध्यक्ष द्रोण बहादुर पुनको अध्यक्षतामा सुरु भएको सम्मेलनको संचालन सचिव भरत पोख्रेलले गर्नुभएको थियो ।
प्रतिक्रिया