मायादेवी अनलाइन, वाणगंगा ।
नेकपा (एकीकृत समाजवादी) शुद्धोधन गाउँपालिका कमिटीको अध्यक्षमा युसुफ मुसलमान चयन हुनुभएको छ । आज कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको लवनी चौराहमा भएको गाउँपालिका भेलाले मुसलमान अध्यक्ष रहेको ५१ सदस्यिय पालिका कमिटी गठन गरेको हो ।
जसको उपाध्यक्षमा गोपाल तेली, सचिवमा फूलचन्द यादव, उप सचिवमा गफ्फार मुसलमान रहनुभएको छ भने अन्य सदस्यहरुमा रहनुभएको क्षेत्रीय इन्चार्ज समेत रहनुभएका पार्टीका जिल्ला कमिटी उपाध्यक्ष नेत्रलाल खनालले जानकारी दिनुभयो ।
यस्तै भेलाले गाउँपालिकाका ६ वटै वडामा वडा कमिटी पनि गठन गरेको छ । जसमा वडा नं. १ को वडा कमिटी अध्यक्षमा अवदेश कुमार चौधरी, वडा नं. २ को अध्यक्षमा जलिल खाँ मुसलमान, वडा नं. ३ को अध्यक्षमा गोपाल तेली, वडा नं. ४ को अध्यक्षमा गफ्फार मुसलमान, वडा नं. ५ को अध्यक्षमा मकबुल फकिर र वडा नं. ६ को अध्यक्षमा महबुब मुसलमान रहनुभएको क्षेत्रीय इन्चार्ज खनालले बताउनुभयो ।
भेलालाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्रबहादुर खत्रीले मधेसी जनताको हक हितको लागि लड्ने पार्टी आफुहरुको भएको बताउनुभयो । तत्कालिन एमालेमा हुँदा केपी ओलीले मधेसी र पहाडीयाका बीचमा लडाउने काम गरेको भन्दै अब त्यसो नहुने बताउनुभयो । माधवकुमार नेपालको नेतृत्व हुँदा मधेसमा आपसी सद्भाव कायम भएको प्रसंग निकाल्दै उहाँले ओलीको भाषणले मधेसी जनतालाई चिडाउने काम गरेको बताउनुभयो । मधेसमा अहिले पनि वर्गाीय खाडल भयाङ्कर रहेको भन्दै त्यसको अन्त्यका लागि एकीकृत समाजवादीमा लाग्नुपर्नेमा जोड दिनुभयो । समानता मुलक समाज निर्माण गरी समाजवादमा दिशामा आफुहरु जान चाहेको उहाँले प्रष्ट्याउनुभयो ।
प्रथम गाउँपालिका भेलामा पार्टीका निर्वाचन आयोगका केन्द्रीय सदस्य अहमद अब्दुल रउफ, जिल्ला अध्यक्ष लंका बहादुर हमाल, प्रदेश कमिटी सदस्य लिला खनाल, जिल्ला उपाध्यक्ष नेत्रलाल खनाल, जिल्ला सचिवालय सदस्य फैजल खाँ, अनेरास्ववियूका जिल्ला अध्यक्ष दिपक अनुरागी लगायतले बोल्दै एकीकृत समाजवादीको पार्टी विस्तारको अभियानमा लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।
प्रतिक्रिया