९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

एमाले केन्द्रीय सदस्यमा कपिलवस्तुका आठ जनाको दाबी, ओलीले नउठ भने नउठ्ने !



मायादेवी अनलाइन, वाणगंगा ।
नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशनमा कपिलवस्तुबाट केन्द्रीय सदस्यमा आठ जनाले दाबेदारी प्रस्तुत गरेका छन् ।

जिल्लाबाट प्रतिनिधित्व भएका वर्तमान केन्द्रीय सदस्य तथा प्रदेश सह–इन्चार्ज गिरीधारीलाल न्यौपाने, केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज विमला घिमिरे र सिराज अहमद फारुकीले पुनः केन्द्रीय सदस्यमा दोहोरिने इच्छा प्रकट गरेका छन् ।

केन्द्रीय सदस्य गिरीधारीलाल न्यौपानेले पार्टीले मूल्याङ्कन गर्दै पुनः दोहोराउन चाहेमा आफू उम्मेदवार हुने स्पष्ट पारे । यसैगरी, राष्ट्रिय सभाका सदस्य समेत रहेकी केन्द्रीय सदस्य विमला घिमिरेले एकताको महाधिवेशन भएकाले सहमतिमा उम्मेदवारी दिने बताइन् ।

यसैगरी, एमाले लुम्बिनी प्रदेश कार्यालय सचिव बलराम अधिकारी, कपिलवस्तु जिल्ला अध्यक्ष झवीलाल पोख्रेल, सहसचिव विश्रामप्रसाद थारु, युवा नेता विष्णु पन्थी र प्रदेश सचिवालय सदस्य डम्मर शर्मासमेतले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

तर यी नेताहरु पार्टी अध्यक्ष केपी ओलीले नउठ भनेको खण्डमा भने उठ्ने छैनन् । एमाले जिल्ला अध्यक्ष समेत रहेका पोख्रेलले रेडियो मायादेवीसंगको अन्तर्वार्तामा आफु सहमति भएको खण्डमा मात्र उम्मेद्वार रहेको बताए । ओलीलाई केन्द्रीय सदस्यमा उठ्ने की नउठ्ने भनेर एक पटक सोध्ने नउठ भनेको खण्डमा नउठ्ने उनले बताए ।

यता विष्णु पन्थीले भने उम्मेद्वारी दिने तयारी गरेका छन् । एमालेको १० बुँदे सहमति पक्षधर मानिएका उनले केन्द्रीय सदस्यमा उठ्ने बताएका हुन् । पार्टीको ९ औं राष्ट्रिय महाधिवेशनमा पन्थी केन्द्रीय सदस्यमा झिनो मतान्तरले पराजित भएका थिए । उनी त्यति बेला माधव कुमार नेपालको प्यानलबाट चुनाव लडेका थिए ।

कपिलवस्तु जिल्लाबाट महाधिवेशनमा २७ जना प्रतिनिधि छानिएका छन् ।

प्रकाशित मिति : १० मंसिर २०७८ शुक्रबार ००:००  ७ : २१ बजे