चन्द्रकान्त न्यौपाने, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ चप्परगाउँको भोटेपथदेखि डेढ सय मिटरमाथि लौँगाई निस्कने बाटोको बाँयापट्टी एउटा सानो कच्चि घर छ । सो घरमा फलामको काम गर्ने एक दलित परिवार लामो समयदेखि बस्छ । अघिपछि निकै सुनसान देखिने सो परिवारमा हिजोआज भने माहौल अर्कै छ । किनकि २३ बर्षिय अनिता विक मृत्यु जितेर घर फर्केकी छन् । अनिता विक सञ्चो भएर आइन् भन्ने थाहा पाउने वित्तिकै म र ज्योतिष खेमराज शर्मा मंसिर ७ गते साँझ ५ बजे त्यहाँ पुग्यौँ । विगत ६ महिनासम्म आँसु नै आँसुको पोखरीमा डुवेको देखेका हामीले त्यो साँझमा उनीहरुलाई देख्दा खुसी मात्र भएनौँ । आँखाभरी आँसु छचल्किए ।
बुहारी अनितालाई बचाउन घरजग्गा बेचेर टाँट पल्टिएका लोक बहादुर विकको मुहारमा त्यो दुखको कुनै गुञ्जायस देखिएन्। हामीलाई देख्नेवित्तिकै उनले अन्तस्करणको खुसी उत्कट गर्दै नमस्कार गरे । हाम्रा भगवानहरु आउनु भयो भनी हत्तपत्त पीढीको कुर्ची आँगनमा ल्याएर बस्न अनुरोध गरे । लोक बहादुरले यो भनिरहाँदा हाम्रा आँखा रसाउन थाले । हामी भावुक बन्यौँ ।
लोककी श्रीमती कमला विकले पनि हर्षकै मुद्रामा हामीलाई नमस्कार गरिन् । लोक बहादुरका अरु छोरा र बुहारी पनि उस्तै खुसी देखिन्थे । जन्म दिएर सुत्केरी दुध समेत खुवाउन नपाएकी विरामी अनिता विकले पनि छोरी एञ्जललाई सुम्सुम्याउँदै थिइन् । दूध चुसाउँदै थिइन् । आँखाको नानीमा राख्दा पनि नविजाउने जस्ता देखिने एञ्जलको मुहारमा पनि कति धेरै खुसी ? ती बालिकाले पनि हामीलाई निकै वेर हेरिरहिन् । हामी थप भावुक भयौँ । अनिताका श्रीमान् भने ज्याला मजदुरी गर्न गएका रहेछन् ।
महंगो उपचार पद्धती भएको ठुलो प्राणघातक रोगले जीवन मरणसंग ५ महिनासम्म जुधेकी अनिता फर्केर आउँछिन् भन्ने कसैलाई पनि लागेको थिएन । उपचारमा संलग्न बाँसबारी न्युरो हस्पिटल काठमाण्डौँका डाक्टरसमेतले अनितालाई बचाउन सक्ने नसक्ने केही भन्न सकेका थिएनन् । अनिताको यो समस्याबारे हामी (मायादेवी टिभी) ले भिडियो बनाउँदा अनिताका सुसरा लोक बहादुरले डाक्टरको भनाई उद्धृत गर्दै भनेका थिए ‘लाखौँ रुपैयाँ जुटाउन सक्नुभयो भने अनितालाई बचाउने झिनो आशा छ, तर ग्यारेन्टी गर्दैनौँ’ ।
डाक्टरको यो भनाईपछि आर्थिक अवस्था कमजोर भएको विकको परिवारमा ठुलै भुइचालो आयो । तर पनि हिम्मत हारेनन् । ठुलो धनराशी जुटाउन लोक बहादुरले आफ्नो घर र घडेरी बन्धकी राखे । छरछिमेक, साथीभाइ, इष्टमित्र, संघसंस्थामाझ मायादेवी मिडियामार्फत् सहयोगको याचन गरे विक परिवारले । त्यसपछि करिब १५ लाख लाख जति जुट्यो । डाक्टरले भनेजति रकम जुटाउन लोक बहादुर सफल भए । डाक्टरको उपचारले पनि काम गर्यो । भाग्यले साथ दियो । भगवान् दाहिना भए । अनिता निको भइन् ।
सुत्केरी हुने वित्तिकै मस्तिष्क र नशा रोगका कारण डेढ महिना भेन्टिलेटरमा, २० दिन आइसियु र अरु समय अस्पतालको जर्नरल वार्डमा जीवन र मृत्युसंग लडेकी अनिता अहिले सजिलै हिँड्न सक्छिन् । कुरा गर्न सक्छिन् । अहिले उनै अनिता मोटी र चिल्ली भएकी छन् । यता छोरी एञ्जल पनि आमाको खामा रही दूध चुस्न पाएकी छन् । ५ महिना साासुको काखमा हुर्किरहेकी एञ्जल अहिले अनिताको खामा खेल्ने गर्छिन् । अनिता यो अवस्थामा आएपछि घर र जग्गा बन्धकमा राखेको परिवारलाई त्यसको कुनै प्रवाह छैन । बाँच्न सके त्यो सबै रिन तिर्न सक्ने हिम्मत लोक बहादुर र कमला विकमा छ ।
डेढ महिनामा भेन्टिलेटरमा रहँदा त केही पनि थाहा हुने कुरा भएन अनितालाई । तर आइसियु र जनरल वार्डमा आएपछि भने केके भइरहेको छ सबै थाहा पाएकी रहेछिन् । उनले भनिन् ‘मेरो यो वास्तविक अवस्थाबारे तपाईले बनाएको भिडियो हेर्दा यसरी अब बोल्न पाउँछु कहिल्यै लागेको थिएन । सासुसुरा, आमाबुबा र परिवारले मलार्ई बचाउन गरेको दुख देख्दा म किन बाँचेकी हुँला भन्ने गर्थेँ ? त्यति दुख पाउनुभयो परिवारले ।आमाबुबाले । सासुसुराले । सबैले मलाई बचाउन कति दुख गर्नु भयो । मलाई सबै थाहा छ । हजुरहरु भगवान् हुनहुन्छ । सहयोग गर्ने सबैलाई मनैदेखि धन्यबाद ।’
म त बाँच्छु भन्ने लागेको थिइनँ । अब बाँचे । पुरै निको भएपछि लागेको रिन तिर्न काम गर्नुपर्ला, उनले थपिन् । बुहारी नभनी छोरीकै रुपमा लिएर अनितालाई बचाउन अहोरात्र लागेका लोक बहादुरले बुहारी आउँदा घरै उज्यालो भएको सुनाए । उनले भने ‘मान्छे इमान्दार हुनुपर्दछ । कुभलो कसैलाई गर्नु हुँदैन । मसंग केही थिएन् । आज बल्ल थाहा पाएँ मैले आजसम्म के कमाएको रहेछु भनेर । अनितालाई बचाउन देशविदेशमा रहनुभएका साथीभाइ, इष्टमित्र, समाजसेवी संघसंस्थाले सहयोग गर्नुभयो । सबैलाई मैले केही दिन त सक्दिनँ । मनैदेखि धेरैधेरै धन्यबाद । तपाईहरुले गर्दा अनिता बाँचिन् । उपचारमा अहिलेसम्म २५ लाख बढी खर्च भएको छ । रिन त दिन आएन भने तिर्ने हिम्मत छ ।’
अनितालाई अझ धेरै ख्याल गर्नुपर्ने डाक्टरले बताएका छन् । अनिताले अझै पनि धेरै औषधी खानुपर्छ । बेलाबेला सुन्निने गछिन् । अझै सामान्य अवस्थामा आउन ६ महिना लाग्छ । हामीजस्तै हुन अझै ३ बर्ष लाग्छ । अनिता घर आउनु नै हाम्रो लागि धेरै खुसीको कुरा हो, उनले भने ।
अनिताकी सासु कमला विकले पनि अनितालाई बुहारी भनेर कहिल्यै नहेरेको बताइन् । उनले भनिन् ‘हामीले छोरी नै भनेर घर घडेरी बन्धकमा राख्यौँ । यी माइली बुहारी हुन् । जेठी र कान्छी बुहारीलाई पनि हामीले उत्तिकै माया दिने गरेका छौँ । यदि बुहारी हुन् क्यारे भनेर बेप्रबाह गरेको भए सायद अनिता बाँच्थिनन् । धेरैले त भन्थे किन खर्च गर्नुहुन्छ । उपचार गरेर पनि निको हुँदैन क्यारे । तर हामीले कसैका कुरा सुनेनौँ । जसरी पनि खर्च जुटायौँ । अहिले अनिता घर आइन् । बुहारीलाई पनि छोरीकै रुपमा हेर्ने हो भने धेरै घरझगडा अन्त्य हुने उनले बताइन् ।
यो सबै सुनिसकेपछि खेमराज गुरु र म निकै खुसी भयौँ । खेमराज गुरुले अनिताको वास्तविकताबारे मलाई जानकारी गराउनुभयो । म र विमल गैरे भएर दृश्यहरु खिच्यौँ र सामाजिक संजाल, युटुसभमार्फत् सार्वजनिक गर्यौँ र सुरु भयो अनिता बचाऔँ । यो कारुणिक कथा सुनिसकेपछि । हेरिसकेपछि संसारभरका चिन्ने नचिन्ने मानिसले थोरैधेरै अनितालाई आर्थिक सहयोग गरे । लायन्स, रोटरी, वन पैदवार कपिलवस्तु लगायतले ठुलै रकम सहयोग गरे भने अरु पनि कोभिडको बेलामा निकै सहयोग गरेका थिए । सबैको सहयोगले अन्तत्वगत्वा अनिताले पुर्नजीवन पाइन् । अभियानकर्ता खेमराज शर्माले मनुष्य जीवनको अर्थ नै परोपकारमा रहेको बताउनु भयो । विकको परिवारलाई अझै पनि आर्थिक समस्या रहेको त्यहाँ पुगेपछि थाहा पायौँ ।
प्रतिक्रिया