काठमाडौँ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले अब पार्टी ‘एक लय एक ताल’मा अघि बढ्ने दाबी गरेका छन्। शुक्रबारदेखि सुरु हुने दशौँ महाधिवेशनबारे ब्रिफिङ गर्न आयोजना गरिएको सम्पादकहरुसँगको अन्तरक्रियामा ओलीले महाधिवेशनपछि पार्टी एक ढिक्का भएर अघि बढ्ने बताएका हुन्।
उनले माधव नेपाल निस्किएपछि एमाले शुद्धीकरण भएको टिप्पणी गरे। कार्यक्रममा ओलीले भने, ‘पार्टी शुद्धीकरण गर्ने मौका मिलेको छ। एक लय एक तालमा अघि बढ्ने अवसर आएको छ। पार्टीमा ल्याङ ल्याङ अन्त्य भयो। पार्टीबाट निर्वाचित केही बिग्रिए।’
महाधिवेशनमा नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई आमन्त्रण किन नगरिएको भन्ने प्रश्न ओलीले कारबाहीमा परेकाहरु संगठित भएर बनेको पार्टीलाई आफूहरुले मान्यता नदिने बताए।
साउन २५ गते एमालेले अनुशासनको कारबाही गरेका सांसद र केन्द्रीय सदस्यहरुलाई नै मान्यता दिएर समाजवादी बनाइएकाले त्यसलाई अस्वीकार गर्ने उल्लेख गरे।
‘माधव नेपाललाई निम्ता दिन मिलेन। किनभने एमालेले अनुशासनविपरीत काम गरेकोले साउन २५ गते कारबाही गरेर भदौ १ गते जानकारी गराइएको थियो, ओलीले अगाडि भने, ‘निष्कास गरिएका व्यक्तिलाई लिएर एमाले विभाजन गरियो। त्यसलाई मान्यता दिँदैनौँ।’
एमाले विभाजन भएर भदौ ९ गते एकीकृत समाजवादी बनेको थियो।
ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई झापा आएर महाधिवेशन गर्न चुनौती दिए। केही दिनअघि दाहालले चितवन पुगेका बेला एमालेले आफूलाई सिध्याउन चितवनमा महाधिवेशन गरेको आरोप लगाएका थिए।
त्यसको जवाफ दिँदै ओलीले भने, ‘प्रचण्डले मेरो निर्वाचन क्षेत्र दमकमा आएर महाधिवेशन गरे भो नि। कसैको चुनाव क्षेत्र भयो भन्दैमा महाधिवेशन नै गर्न नपाइने भन्ने हुन्छ र ?’ ओलीले प्रचण्डले आफूहरुलाई नभइ भर्खरै पार्टीको महाधिवेशन गरेका माले महासचिव सिपी मैनालीलाई पार्टी सिध्याउन लागेको भनेर आरोप लगाएको व्यंग्य गरे।
पार्टीमा चुनाव लड्न सबैलाई स्वतन्त्रता भएको बताउँदै सहमतिका लागि कसैलाई पनि करकाप नगर्ने बताए। भीम रावलले आफूविरुद्ध अध्यक्षमा उठ्ने घोषणा गरे पनि चुनौती नदिएको ओलीको टिप्पणी थियो।
प्रतिक्रिया