९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

एमालेमा कुनै गुटबन्दी र प्यानल हुँदैनः विष्ट



काठमाडौं ।

नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले आगामी महाधिवेशनको सम्बन्धमा कुनैपनि विवाद र अन्तरविरोध नरहेको दावी गरेका छन् । मंगलवार नेकपा (एमाले) को स्थायी कमिटी बैठकको क्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिदैँ सचिव विष्टले एमालेको महाधिवेशन सहमती र समझदारीकै आधारमा सम्पन्न गर्ने बताए । विष्टले एमालेभित्र कुनै गुटबन्दी र प्यानल नभएको पनि जिकिर गरे ।

एमालेलाई गुटरहित र प्यानलरहित बनाउनेगरी अघि बढ्ने उनको भनाइ थियो । उनले भने, ‘बाहिर जुन प्रकारले एमालेको महाधिवेशनमा भाँडभैलो होलाकी भनेर मान्छेले अनुमान, कल्पना गरेका होलान् । त्यो प्रकारको अवस्था आउँदैन । हामी आउन दिदैनौँ । समझदारीपूर्वक, अत्यन्त उच्च उत्साह पैदा गर्नेगरी नै हामी अगाडी बढ्छौँ । एमालेभित्र कुनै गुटबन्दी, प्यानल छैन । गुटरहित, प्यानलरहित एमाले निर्माणको लागि हामी अगाडी बढ्छौँ ।’

त्यसैगरी नेकपा (एमाले) का नेता रघुवीर महासेठले उम्मेदवारी घोषणा गर्नेहरुले निर्वाचनको समयसम्म उम्मेदवारी फिर्ता लिने दाबी गरे । जुन प्रतिनिधिको बलमा उम्मेदवारी घोषणा गरिएको छ, सोही प्रतिनिधिको प्रस्तावमा उम्मेदवारी फिर्ता हुने उनले भने ।
उनले एमालेको नेतृत्व चयन सहमतीमा हुँदैनकी भनेर शंका गर्ने ठाउँ नरहेको जिकिर गरे ।

प्रकाशित मिति : ७ मंसिर २०७८ मंगलबार ००:००  ६ : १४ बजे