९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कांग्रेस कपिलवस्तु निर्वाचनः तीनै वटै क्षेत्रमा आज मतदान



मायादेवी अनलाइन, वाणगंगा ।
नेपाली कांग्रेस कपिलवस्तुले आज क्षेत्रीय अधिवेशन गर्दै छ । प्रतिनिधिसभाका तीन क्षेत्र रहेको जिल्लामा सोमबार उम्मेद्वारी दर्ता र मंगलबार (आज) मतदानको निर्वाचन कार्यतालिका रहेको छ ।

सोमबार तीन वटै क्षेत्रमा उम्मेद्वारी दर्ता गरेरका उम्मेद्वारहरु चुनावी प्रचारमा जुटेका छन् ।

पालिका तह देखि नै चु्नाव हुँदै आएको कांग्रेस कपिलवस्तुमा क्षेत्रीय अधिवेशनमा पनि चु्नावबाटै नेतृत्व छनौट हुने भएको छ । सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष बीच कडा प्रतिस्पर्धा देखिएको जिल्लामा दुवै पक्षले प्यानल बनाएर चुनावी प्रचारमा छन् ।

क्षेत्र नं. १ मा टेकबहादुर शाही र अब्दुल मन्नान बीच चुनाव हुने भएकोछ । सोमबार दुवै जनाले सभापतिको लागि उम्मेद्वारी दर्ता गर्नुभएको छ । शाहीलाई पौडेल पक्षको समर्थन छ भने मन्नानलाई देउवा पक्षले सहयोग गरेको छ ।

क्षेत्र नं. २ मा केशव कुमार श्रेष्ठ र विरेन्द्र मिश्रा बीच सभापतिमा टक्कर हुने भएको छ । दुवै जना एउटै वडाका भएपनि क्षेत्रीय सभापतिमा चुनाव लड्न थाल्नुभएको हो । श्रेष्ठ पौडेल पक्षबाट चुनाव लड्नुभएको हो भने मिश्रालाई देउवा पक्षले समर्थन गरेको छ ।

क्षेत्र नं. ३ मा हरि प्रसाद पोख्रेल र ब्रह्मानन्द उपाध्याय बीच सभापतिमा प्रतिस्पर्धा हुने भएको छ। सोमबार मनोनय दर्ताको क्रममा दुवै पक्ष बीच खटपट देखिएको थियो । विवादले उग्ररुप लिन थालेपछि निर्वाचन समितिले वार्ता बसालेर सहमतिको प्रयास थालेको थियो । यद्यपि यो विवाद समाधानका लागि मंगलबार विहान वार्ता बस्ने तयारी भएको कांग्रेस स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७८ मंगलबार ००:००  ६ : ३१ बजे