मायादेवी अनलाइन, तौलिहवा ।
नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत कपिलवस्तुको ६ प्रदेश निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न भएको छ । पाँच क्षेत्रमा मतदान भए पनि १ क्षेत्रमा भने सर्वसम्मत नेतृत्व चयन भएको थियो ।
शुक्रबार सुरु भएको पाँच क्षेत्रीय अधिवेशनको परिणाम शनिबार अबेर सार्वजनिक भएको थियो । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ अन्तर्गत प्रदेश क्षेत्र ‘ख’मा सर्वसम्मत नेतृत्व चयन भएको हो । निर्विरोध निर्वाचित हुने क्षेत्रीय सभापतिमा मुक्तेश्वर मिश्र छन् ।
क्षेत्र नं. ३ अन्तर्गत प्रदेश क्षेत्र ‘क’मा गोविन्दबहादुर खत्री निर्वाचित भएका छन् । खत्री २३७ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी देवराज भारतीले ३८ मत प्राप्त गरेका थिए । सो क्षेत्रमा २९६ क्षेत्रिय प्रतिनिधि रहेकोमा २७५ मत खसेको जिल्ला निर्वाचन अधिकृत घनश्याम पन्तले जानकारी दिए ।
त्यस्तै, क्षेत्र नं. २ अन्तर्गत प्रदेश क्षेत्र ‘क’मा रघबेन्द्र सिंह निर्वाचित भएका छन् । सिंह २५८ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी रामप्यारे यादवले ८५ मत प्राप्त गरेका थिए । कपिलवस्तु क्षेत्र नम्बर २ प्रदेश (ख)को सभापतिमा गिरिजेशकुमार पाण्डेय निर्वाचित भएका छन् । पाण्डेय १४६ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी रुद्रबहादुर गैरे (प्रकाश) ले १३० मत प्राप्त गरे । पराजित गैरे कपिलबस्तु नगरपालिका वडा नं. ३ का वडाध्यक्ष हुन भने निर्वाचित भएका पाण्डेय यशोधरा गाउँपालिकाको अध्यक्ष छन् ।
त्यस्तै, कपिलवस्तुको क्षेत्र नं. १ को प्रदेश सभा ‘क’ को सभापतिमा बाणगङ्गा नगरपालिकाका नगर प्रमुख मंगलप्रसाद थारु पराजित भएका छन् । नगर प्रमुख थारुलाई उनका प्रतिस्पर्धी दुर्गा केसीले ४० मतअन्तरले पराजित गरेका हुन् । थारु निवर्तमान वाणगङ्गामा नगर सभापति थिए ।
वाणगङ्गा नगरपालिकाको ओदारी माविमा शनिबार भएको निर्वाचनमा प्रदेश सभा ‘क’ मा ३४३ जना क्षेत्रीय प्रतिनिधिले मतदान गरेकोमा ३३६ मत सदर भएको थियो ।
क्षेत्र नं १ अन्तर्गत प्रदेश क्षेत्र ‘ख’मा वलिउद्धिन मुसलमान निर्वाचित भए । मुसलमान १३४ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी परमेश्वर पाठक (सिडियो)ले ११८ मत प्राप्त गरे । कुल २५८ क्षेत्रीय प्रतिनिधि रहेकोमा २५६ मत खसेकोमा तीन मत बदर भएको मतदान अधिकृत हरिद्धार कुर्मीले बताए ।
प्रतिक्रिया