९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

लिखित सहमति कार्यान्वय नभएको भन्दै सिद्धार्थ क्याम्पसमा विद्यार्थी संगठनद्धारा तालाबन्दी



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुका क्रियाशिल तीन विद्यार्थी संगठनले सिद्धार्थ क्याम्पस बुङ्चीमा तालावन्दी गरेका छन् । गएको कार्तिक ७ गते विभिन्न ६ बुँदे माग राखेर क्याम्पस प्रशासन समक्ष ज्ञापनपत्र बुझाएका विद्यार्थी संगठनले उक्त सहमति कार्यान्वयन नभएपछि आइतबार विहान क्याम्पस प्रशासनमा तालाबन्दी गरेका हुन् ।

तालाबन्दी गर्नेमा अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू, अखिल (क्रान्तिकारी) रहेका छन् ।

गएको कार्तिक ११ गते विद्याथी संगठनसंग क्याम्पस सञ्चालक समितिले मागहरु सम्बोधन गर्न भन्दै वार्ता बसालेको थियो । झण्डै तीन घण्टा बसेको उक्त वार्ताले १ बुँदे सहमति गर्दै कार्तिक मसान्त भित्र पुनः दोस्रो चरणको वार्ता बस्ने गरी सहमति गरेको थियो । तर, कार्तिक मसान्त कटेर मंसीर पहिलो हप्ता जादा समेत क्याम्पस प्रशासनले वार्तामा नबोलाएकाले क्याम्पस प्रशासनमा बाध्य भएर तालाबन्दी गरेको एकीकृत समाजवादी निकट अनेरास्ववियूका जिल्ला अध्यक्ष दिपक अनुरागीले जानकारी दिनुभयो ।

लिखित सम्झौतालाई सिधै व्यवास्था गर्ने क्याम्पस सञ्चालक र प्रशासनको कारण तालाबन्दी गरिएको भन्दै आफुहरुका माग पुरा नहुँदासम्म ताला नखुल्ने माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष हरिशचन्द्र खनालले बताउनुभयो ।

क्याम्पस प्रशासनको गेटमा ताला लगाएर विद्यार्थी संगठनले तालाबन्दी गर्नुको कारण उल्लेख गरेका छन् । विद्यार्थीको जायज माग सुने झै गर्ने तर व्यवहारमा कार्यान्वयन नगर्ने परिपाटी क्याम्पस सञ्चालकले देखाएको नेकपा निकट अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीले बताउनुभयो ।

यता क्याम्पस प्रमुख खेमराज शर्माले विद्यार्थी संगठनले राखेका मागहरु सुन्न क्याम्पस तयार रहेको भन्दै तालाबन्दी गर्ने काम दुखद रहेको बताउनुभयो । लिखित सहमति प्रति आफुहरु गम्भीर रहेको भन्दै समय परिस्थितिका कारण तोकिएको समयमा वार्ता बस्न नसकिएको स्विकार गर्नुभयो । अब चाडै छलफल गरेर उचित निकास निकाल्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

यस्तो छ चेतावनी पत्र

प्रकाशित मिति : ५ मंसिर २०७८ आइतबार ००:००  ७ : ४९ बजे