९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

मकवानपुरमा देउवा पक्षको ‘क्लिन स्विप’



मकवानपुर ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मकवानपुरमा सम्पन्न प्रदेशसभास्तरीय निर्वाचनमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पक्षले ‘क्लिन स्विप’ गरेको छ । कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीना तथा कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको समर्थन रहेको उम्मेदवारले संस्थापन इतरलाई पराजित गर्दै चारवटै क्षेत्रमा जीत हात पारेको हो । निर्वाचनबाट प्रत्येक क्षेत्रमा कार्यसमितिसहित २५ जना प्रदेश प्रतिनिधि पनि छनोट गरेको छ । जिल्लाको ४ क्षेत्रमध्ये तीन स्थानमा प्यानलसहित निर्वाचन प्रक्रिया भएको थियो । निर्वाचन प्रक्रियाबाट ३ सभापति चयन हुँदा एकजना निर्विरोध सभापति चयन भए ।

मकवानपुर प्रतिनिधिसभा–१ को प्रदेशसभा ‘क’ मा सुशान्तकुमार श्रेष्ठ निर्विरोध चयन भएका थिए । उपसभापतिमा कमलाकुमारी वाइवा र गोपालबहादुर न्यासुर, सचिवमा भूमिनन्द गौतम र शंकर पराजुली तथा सहसचिवमा दीपक ढकाल र अमर सोराइली निर्विरोध चयन भएका हुन् ।

मकवानपुर प्रतिनिधिसभा–१ ‘ख’ मा राजेश बानियाँको प्यानल नै विजयी भएका हो । सभापतिमा बानियाँले १७७ मत ल्याएर विजयी भए भने प्रतिस्पर्धी रमेशध्वज कार्कीले ८३ मत ल्याए । उपसभापतिमा विनोद शर्माले १६० र शुक्रराज जोशीले १५६ मत ल्याएर विजयी भए । सचिवमा गोकर्ण सुवेदीले १८० र प्रदिप कडेँलले १९२ मत ल्याएर विजयी भए । सहसचिवमा केदारप्रसाद ढोडारीले १८८ र सानो कान्छा दोङले १९६ मत ल्याएर विजयी भए ।

मकवानपुर प्रतिनिधिसभा–२ को ‘क’ को सभापतिमा खड्गबहादुर गोपाली निर्वाचित भएका छन् । गोपालीले सभापतिका अर्का प्रतिस्पर्धी सुजन गोपालीलाई पराजित गर्दै निर्वाचित भएका हुन् । उपसभापतिमा इश्वरी शाही ठकुरी र रञ्जन कठायत विजयी भएका छन् । सचिवमा नरहरी गोपाली र राजेशबाबु सापकोटा विजयी हुँदा सहसचिवमा रामशरण गोपाली र समिता रसाइली विजयी भएको पार्टी प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

मकवानपुर प्रतिनिधिसभा–२ को ‘ख’ सभापतिमा रञ्जन कालाखेती निर्वाचित भएका छन् । उनले आफ्नो प्रतिस्पर्धी रामकृष्ण प्रजालाई पछि पार्दै सभापतिमा निर्वाचित भएका हुन् । मत परिणाम अनुसार कालाखेतीले २९२ मत पाउँदा प्रजाले २२३ मत पाएका थिए । उपसभापतिमा भुवन नेगी र रामकुमार वाल्पा थिङ विजयी भएका छन् । सचिवमा नवराज पौडेल र कृष्ण योञ्जन विजयी हुँदा सहसचिवमा गोपिलाल थिङ र शालिकराम अधिकारी विजयी भएका हुन् ।

प्रकाशित मिति : ४ मंसिर २०७८ शनिबार ००:००  १२ : ३६ बजे