मायादेवी अनलाइन, वाणगंगा ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) शिवराज नगर कमिटी कपिलवस्तुको प्रथम अधिवेशन मंसीर ४ गते शनिबार हुने भएको छ ।
पार्टीको आधार इलाकाका रुपमा रहेको शिवराजमा प्रथम अधिवेशनको मिति नजिकिदै जादा पार्टी कामले तिव्रता पाएको छ ।
११ वडा रहेको शिवराजमा ६ वटामा वडा कमिटी गठन भैसकेको शिवराज नगर कमिटी अध्यक्ष सरोज पौडेलले जानकारी दिनुभयो ।
बाँकी वडामा पनि छिट्टै वडा कमिटी गठनको तयारी रहेको अध्यक्ष पौडेलले बताउनुभयो । शिवराज मधेसी, मुस्लिम, पहाडीया र थारु समुदायको मिश्रित बसोबास रहेको लुम्बिनी प्रदेशकै प्रमुख व्यवसायिक गन्तव्य स्थान हो । कृष्णनगर नगरपालिकासंग सटेको शिवराजमा चन्द्रौटा बजार क्षेत्र पर्दछ ।
नेकपा (एस) को प्रभाव क्षेत्रका रुपमा पछिल्लो समय दहरिएको शिवराजमा मंसीर ४ गते शनिबार अधिवेशन मार्फत पार्टीको नयाँ नेतृत्व आउने नगर इन्चार्ज छविलाल शर्माले जानकारी दिनुभयो । हाल जिल्ला पार्टीले नगर अध्यक्षको रुपमा सरोज पौडेल र इन्चार्जको रुपमा छविलाल शर्मालाई जिम्मेवारी तोकेको छ । अब अधिवेशन मार्फत पदाधिकारीसहित सिंगो नगर कमिटी निर्माण हुन लागेको हो ।
विधानले तोके अनुसार प्रत्येक वडाबाट प्रतिनिधि ल्याई अधिवेशन गर्न लागिएको पार्टीले जनाएको छ । नेकपा (एस)को विधानमा नगर कमिटी ५१ देखि ५५ सदस्यिय हुन सक्ने प्रावधान छ । एक अध्यक्ष, दुई उपाध्यक्ष, एक सचिव र दुई उप सचिव सहित पदाधिकारी रहने पनि विधानमा उल्लेख छ ।
तत्कालिन एमालेबाट विद्रोह गरी बैज्ञानिक समाजवाद त्याउने गरी स्थापना भएको नेकपा (एस)ले जिल्लामा पार्टी निर्माणलाई तिव्र पारिरहेको छ । नयाँ पार्टी गठन लगत्तै कृष्णनगर नगरपालिकामा नगर कमिटी गठन गरेर पार्टी गठनको सुरुवात गरेको एसले शिवराज लगत्तै वाणगंगा नगर कमिटीको मंसीर ७ गते अधिवेशन गर्न थालेको पार्टीको प्रचार विभाग प्रमुख विकास बञ्जाडेले जानकारी दिनुभयो ।
प्रतिक्रिया