१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै



विराटनगर ।

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मंगलबार (आज) प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। मध्यान्ह १२ः३० बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने भएका हुन्। राईले विश्वासको मत सम्बन्धी प्रस्ताव गत आइतबार संसद सचिवालयमा दर्ता गराएका थिए। विश्वासको मत लिनलाई दुई दिनअघि त्यस सम्बन्धी प्रस्ताव संसद सचिवालयमा दर्ता गराउनुपर्ने व्यवस्था छ।

नेकपा (एकीकृत समाजवादी)का नेता राई गत कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका हुन्। पाँच दलीय गठबन्धनको तर्फबाट उनी प्रदेश १ का मुख्यमन्त्री बनेका थिए। संसदबाट विश्वासको मत लिएपछि प्रदेश सरकार विस्तार गर्ने तयारी उनको छ।
९२ सदस्यीय प्रदेशसभामा बहुमत पुर्‍याउन ४७ मत आवश्यक पर्छ। नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र संघीय लोकतान्त्रिक मञ्च गरेर गठबन्धनमा रहेका दलहरुसँग ५० सांसद छन्। प्रतिपक्षी दल एमालेसँग सभामुखसहित ४१ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक सांसद छन्।
गठबन्धनमा आवद्ध दलहरुले मुख्यमन्त्री राईलाई विश्वासको मत दिनका लागि सोमबार आफ्ना सांसदहरुलाई ह्वीप जारी गरिसकेका छन्। विश्वासको मतका विषयमा छलफल गर्न पाँच दलीय गठबन्धनको बैठक सोमबार बसेको थियो।

प्रकाशित मिति : ३० कार्तिक २०७८ मंगलबार ००:००  ८ : ५३ बजे