१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

विप्लवद्धारा भोलि नेपाल बन्द आह्वान



काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टीले भोलि (मंगलबार) नेपाल बन्दको आह्वान गरेको छ । पार्टी महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले आइतबार जारी गरेको प्रेस बक्तव्यमा उक्त कुरा उल्लेख छ ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा यहीं कात्तिक ३० गते आह्वान गरेको नेपाल बन्द सफल पार्न आग्रह गरेको छ । आईतबार एक पत्र जारी गर्दै पार्टीले कात्तिक ३० गतेको नेपाल बन्दका दिन यातायात, उद्योग, व्यापार–व्यवसाय र शैक्षिक संस्था बन्द गरी आन्दोलनप्रति ऐक्यवद्धता जनाई नेपाल बन्द कार्यक्रम पूर्ण रूपले सफल पार्न यातायात व्यवसायी, उद्योग, व्यापार–व्यवसाय, शैक्षिक क्षेत्र सम्बद्ध सम्पूर्ण सङ्घ–संस्था र पेसा–व्यवसायीहरूमा आग्रह गरेको हो ।

पार्टी केन्द्रीय समितिका तर्फबाट पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका इन्चार्ज प्रज्वलले सरकारले सर्वत्र कठिनाइ भोग्न बाध्य नेपाली जनता र व्यवसायीहरूको सङ्कटमा सहयोग गर्नुको सट्टा सरकार दिन–प्रतिदिन मूल्य वृद्धि गरेर जनतामा थप कष्ट थपिदिन उद्धत रहेको आरोप लगाए । डिजेल, पेट्रोल, हवाई इन्धन, ग्याँस सिलिन्डर तथा दैनिक अत्यावश्यक उपभोग्य वस्तुमा भएको चर्को मूल्यवृद्धिले सर्वसाधारण किसान, श्रमिक, मजदुर मात्र नभई विद्यार्थी, शिक्षक–बुद्धिजीवी, कर्मचारीलगायत मध्यम वर्ग र व्यवसायीहरूको समेत ढाड भाँच्ने उनको जिकिर छ ।

उक्त पत्रमा भनिएको छ, ‘पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि विरुद्धको आन्दोलन हाम्रो पार्टीको मात्र नभई आम जनसमुदाय र व्यवसायीहरूको समेत साझा सरोकारको विषय हो । नेपाल बन्द हाम्रो रहर नभई बाध्यता हो । आन्दोलनका कार्यक्रमहरूमा देशव्यापी ऐक्यबद्धता प्रकट गरी मूल्यवृद्धिको सशक्त प्रतिवाद गर्दै मूल्यवृद्धि खारेज गर्न सरकारमाथि चौतर्फी दबाब सिर्जना गर्नु हरेक क्षेत्रका नागरिकहरूको दायित्व हो ।’

प्रकाशित मिति : २९ कार्तिक २०७८ सोमबार ००:००  ६ : ४१ बजे