काठमाण्डौ ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर साढे तीन प्रतिशतभन्दा तल झरेको छ । १२ हजार चार सय दुई जनाको नमुना परीक्षण गर्दा तीन दशमलव ३५ प्रतिशत अर्थात् चार सय १६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज थपिएका चार सय दुई जनासहित अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख १७ हजार तीन सय ३३ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९५ हजार एक सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै २४ घण्टामा दुई सय ७० जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९८ हजार पाँच सय ४४ पुगेको छ । यही अवधिमा एक जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । योसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ७८ पुगेको छ । अहिले नेपालमा सात हजार तीन सय ११ जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा ७४ हजार चार सय ५२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ७५ लाख ८० हजार एक सय ३३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । यस्तै ८८ लाख ७६ हजार तीन सय सात जनाले कम्तीमा एक मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ । १८ वर्षमाथिको जनसङ्ख्याको ३८ प्रतिशत नागरिकले पूर्ण मात्रा र ४४ दशमलव ६ प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाएका छन् ।
प्रतिक्रिया