ओखलढुङ्गा ।
ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकामा रहेको ककनी मन्दिर दर्शनका लागि गएका चार जनाको जीप दुर्घटनामा ज्यान गएको छ ।
ककनी मन्दिर जाँदै गरेको प्रदेश ३–०१–०२२ च ९६९४ नम्बरको जीप सुनकोसी गाउँपालिका ९ को जौबारी नजिकैको कुसाङ भन्ने ठाउँमा सडकबाट झन्डै ६ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाउनेमा सबै सिद्धिचरण नगरपालिका १० को रुप्सेका रहेका छन् । दुर्घटनामा १७ वर्षीया तुलसा मगर, ३५ वर्षीया मिठूमाया मगर, ३५ वर्षीया शान्ता मगर र उमेर नखुलेका खगेन्द्र मगर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी गोविन्द काफ्लेका अनुसार तीन जनाको घटनास्थलमा र एक जनाको उद्धार गरेर उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा ज्यान गएको हो । यस्तै दुर्घटनामा गम्भीर घाइते भएका चार जनालाई हेलिकप्टरबाट काठमाण्डौ पठाइएको र अन्य नौ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मन्दिर दर्शनका लागि गएका एकै गाउँका चार जनाको ज्यान गएपछि गाउँ नै शोकमा डुबेको छ । गाउँका यति धेरै मान्छे दुर्घटनामा परेकाले आफन्त र छरछिमेक सबै शोकमा डुबेका सिद्धिचरण १० का वडाध्यक्ष दामोदर धमलाले बताउनुभयो ।
प्रतिक्रिया