९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

आजदेखि दीर्घ रोगीलाई फाइजर खोप दिइँदै, यी अस्पतालमा लगाइन्छ खोप



काठमाण्डौ ।

सरकारले आजदेखि १२ वर्षमाथिका दीर्घ रोगीलाई कोभिड-१९ विरुद्धको फाइजर खोप दिँदै छ । १२ वर्षमाथिका आठ प्रकारका दीर्घ रोग भएका व्यक्तिहरुलाई सरकारले फाइजर खोप दिन लागेको हो। यो खोप अभियान मंसिर चार गतेसम्म चल्नेछ । खोप लगाउनका लागि सरकारले देशभर २४ वटा अस्पताल तोकेको छ । यस अघि कोभिड विरुद्धको खोप लगाएका खोप केन्द्रमा यसपालि फाइजर खोप लगाउन पाइने छैन ।

सरकारले तोकेका अस्पतालमा मात्रै फाइजर खोप लगाउन पाइनेछ । तोकिएका अस्पतालहरुमा बिहान १० देखि ४ बजेसम्म खोप लगाउन पाइनेछ । खोप १२ वर्षभन्दा माथिका दीर्घ रोगीलाई देशभरिका २४ वटा अस्पतालबाट दिइनेछ । खोप लगाउन जाँदा अस्पताल वा डाक्टरले सिफारिस गरेको दीर्घ रोगको उपचारसम्बन्धी पुर्जा लिएर जानुपर्नेछ । खोपको दोस्रो मात्रा मङ्सिर २७ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुनेछ ।

खोप कसले पाउने ?

– १२ वर्षमाथिका निम्न दीर्घ रोग भएका बिरामी

– लामो समयदेखि मुटुका बिरामी भइ अप्रेसन गरेका वा औषधि प्रयोग गरिरहेका व्यक्ति

– लामो समयदेखि मिर्गौलाको समस्या भइ मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका, औषधि खाइरहेका बिरामी

– जुनसुकै प्रकारको क्यान्सरको पहिचान भइ अप्रेसन गरेका तथा उपचारमा रहेका बिरामी

– लामो समयदेखि छातीको समस्या भइ चिकित्सकको पुर्जा बमोजिम औषधि खाइरहेका बिरामी

– अङ्ग प्रत्यारोपण गरेका व्यक्ति

– लामो समयदेखि कडा खालको उच्च रक्तचाप र मधुमेह भइ डाक्टरको निगरानीमा उपचार गराइरहेका बिरामी

– कुनै पनि कारणबाट रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका व्यक्ति

– मस्तिष्क र मस्तिष्कका रक्तनलीसम्बन्धी रोग भएका व्यक्ति

कसले लगाउन मिल्दैन ?

– कोभिड-१९ विरुद्धको अन्य कुनै खोप लगाएका व्यक्तिले यो खोप लगाउनु हुँदैन ।

– १२ वर्षभन्दा कम उमेर भएका व्यक्तिले पनि यो खोप लगाउनु हुँदैन ।

प्रकाशित मिति : २८ कार्तिक २०७८ आइतबार ००:००  ९ : २३ बजे