९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

‘विप्लव’ समूह माओवादी केन्द्रमा नै फर्किन्छः प्रचण्ड



काठमाण्डौ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द ९विप्लव० समूह माओवादी केन्द्रमा नै फर्किने विश्वास व्यक्त गर्नुभएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उहाँले विप्लव माओवादी केन्द्रमा नै फर्किने विश्वास व्यक्त गर्नुभएको हो ।

उहाँले माओवादीबाट टुक्रिएर गएका अन्य नेताहरुसँग आफ्नो संवाद भइरहेको भन्दै मोहन वैद्य किरण, डा.बाबुराम भट्टराई लगायतका सबै माओवादी मिलेर नै मौलिक क्रान्तिकारी धारलाई अघि बढाउन सकिने बताउनुभयो ।

अध्यक्ष दाहालले आराम गर्दै, रमाइलो मान्दै (रोमान्स) जस्तो गरेर माओवादी क्रान्तिलाई अघि बढाउन नसकिने बताउँदै समाजवादतर्फ इमान्दार हुने कम्युनिष्टहरु ढिलोचाँडो पुरानो घरमा फर्किएर आउने बताउनुभयो ।

कार्यक्रममा अध्यक्ष दाहालले एकै युग र एउटै कालखण्डमा धेरै प्रचण्ड हुन नसक्ने बताउनुभयो । उहाँले एउटा समयमा नागरिक, आन्दोलन, समय र सङ्घर्ष, सही विचार र बलिदानबाट मात्रै प्रचण्ड पैदा हुनसक्ने बताउनुभयो ।

अध्यक्ष दाहालले कोही एक व्यक्तिको चाहनामा र लहर चल्दैमा क्रान्ति नहुने भन्दै प्रचण्ड नेपाली नागरिकले जन्माएको बताउनुभयो । उहाँले प्रचण्ड व्यक्ति नभइ सही विचार, बलिदान, सङ्घर्षको प्रतीक भएको पनि बताउनुभयो । अध्यक्ष दाहालले प्रतिक्रियावादीहरु माओवादी क्रान्तिको उपलब्धि उल्ट्याउने षड्यन्त्रमा लागि परेको बताउनुभयो।

प्रकाशित मिति : २६ कार्तिक २०७८ शुक्रबार ००:००  १ : १४ बजे