९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

रक्सी खाएर होहल्ला गरेको आरोपमा जानकीप्रसाद यादव पक्राउ



कपिलवस्तु ।
रक्सीले मातेर होहल्ला गर्ने नेपाली कांग्रेस विजयनगर गाउँ समिति सभापति जानकीप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ । यादवले विजयनगर गाउँपालिका-६ खरेनी चोकमा स्थानीयसँग झगडासमेत गरेको प्रहरीले जनाएको छ ।

पदको धम्की दिँदै झगडा गर्न थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बुधबार राति ९ बजेतिर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । घटना स्थलमा इलाका प्रहरी कार्यालय गणेशपुरको प्रहरी पुगेपछि ड्युटीमा खटिएका प्रहरीलाई समेत उनले अभद्र व्यवहार गरेका थिए । यादवले प्रहरी निरीक्षक रणबहादुर विष्टलाई फोन गरी गाली गर्ने र थर्काउन लागेपछि नियन्त्रणमा लिई प्रहरी कार्यालयमा पुराएको थियो।

प्रहरीले राजनीतिक दबाबका कारण उनलाई एक घण्टाभित्रै हिरासतमुक्त गरेको थियो । यादवलाई नियन्त्रणमा लिई छाडेको प्रहरी निरीक्षक विष्टले स्वीकार गरेका छन् ।

पक्राउ परेका यादव नेपाली कांग्रेसको असोजमा सम्पन्न गाउँ अधिवेशनबाट गाउँ समिति सभापतिमा विजयी भएका थिए । उनी गौतम बुद्ध साझेदारी वनका अध्यक्षसमेत हुन् ।

घटनाको विषयमा सभापति यादवसँग सोधपुछ गर्दा गलत आरोपमा फसाएको दाबी गरेका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७८ बिहिबार ००:००  ८ : ५१ बजे