काठमाण्डौ ।
नेपालमा कोरोना सङ्क्रमण दर साढे दुई प्रतिशतमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६ सय ५३ जनाको नमुना परीक्षण गर्दा जम्मा दुई दशमलव ५० प्रतिशत अर्थात् तीन सय १७ जनामा सङ्क्रमण पुष्टि भएको छ । नेपालमा कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएयता सङ्क्रमण दर तीन प्रतिशतभन्दा तल झरेको आज पहिलो पटक हो । आज थपिएका तीन सय १७ जनासहित अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख १६ हजार ६० जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९४ हजार नौ सय ९५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै थप दुई सय ७९ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९७ हजार ५९ पुगेको छ ।
यही अवधिमा थप ६ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ६६ पुगेको छ ।
अहिले नेपालमा सात हजार पाँच सय ३५ जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया