९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ



काठमाण्डौ ।
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यसपालिको छठ पर्व सकिएको छ। आराध्यदेव सूर्यको उपासना गरी मनाइने पर्व छठ बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकिएको हो ।

उदाउँदो सूर्यलाई अर्घ्य दिन काठमाण्डौसहित तराईका विभिन्न जिल्लामा भक्तजन नदी, तलाउ र पोखरीका किनारमा रातभर जाग्राम बसेका थिए ।

छठको मुख्य दिन हिजो अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अर्घ्य दिएका भक्तजनले आज उदाउँदो सूर्यको पूजा आराधना गरेका हुन् ।
उदाउँदो सूर्यको पूजा आराधना गर्न काठमाण्डौमा गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत तराई मधेसका ऐतिहासिक गङ्गा सागर, पोखरी तथा नदी तलाउमा व्रतालुहरुको घुइँचो लागेको थियो ।

दुलही झैँ सिङ्गारिएका तलाऊहरुमा हजारौँ भक्तजन भेला भएर पूजा आराधना गरेका छन् । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाइन्छ । कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा चर्म अर्थात छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ ।

अघिल्लो वर्ष घरमै छठ मनाउन बाध्य भएका व्रतालुले यसवर्ष जलाशय, नदी खोला किनारमै पुगेर उल्लासपूर्ण रुपमा छठ मनाएका छन् । पोहोर कोरोनाको कारण घरमै छठ मनाइएको थियो । पहिले तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रियस्वरुप ग्रहण गरेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८ बिहिबार ००:००  ७ : ५९ बजे