बुटवल ।
लुम्बिनी प्रदेश सरकारले आगामी मंसिरसम्म प्रदेशसभाको भवन तयार गर्ने भएको छ । लुम्बिनीको स्थायी राजधानी दाङको भालुवाङमा निर्माणाधीन भवन आगामी मंसिरसम्म पूरा हुने प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्त घिमिरेले जानकारी दिनुभयो ।
प्राधिकरणले दुई चरणमा सक्ने गरी भवन निर्माणको काम अगाडि बढाएको हो । प्रदेशसभाको भवन लुम्बिनी प्रदेशको ऐतिहासिकता झल्किने गरी आधुनिक शैलीमा निर्माण भैरहेको छ । ५ करोड २२ लाखको लागतमा निर्माण हुन लागेको भवनमा ढुंगाको छाना, आँखी झ्याल जस्ता यस क्षेत्रका परम्परागत डिजाइनहरु समावेश गर्ने गरी काम भैरहेको प्राधिकरणका प्रमुख घिमिरेले बताउनुभयो ।
भवन निर्माणका लागि अहिले रातिमा समेत कामदार खटिएका छन् । भवन निर्माणका लागि २४ वैशाख २०७७ मा ठेक्का सम्झौता गरी निर्माणको काम सुरु भएको थियो । ठेक्का सम्झौता अनुसार २०७८ साउनभित्रै भवन निर्माण गरी हस्तान्तरण गर्नुपर्ने छ ।
तर, सम्झौता अनुसार काम नभएपछि निर्माण कम्पनी परिवर्तन गरी अर्कोलाई ठेक्का दिइएको हो । सुरुमा भवन निर्माणका लागि ड्रागन जेभी बस्नेतलाई ठेक्का दिइएकोमा सम्झौता अनुसार काम नभएपछि अर्का निर्माण व्यवसायी यज्ञ केसीलाई निर्माणको जिम्मा दिइएको छ ।
प्रदेशसभाले हिउँदे अधिवेशन नयाँ भवनमै गर्ने गरी तयारी गरेको छ । वर्षे अधिवेशन सकिने र आगामी हिउँदै अधिवेशन दाङमा निर्मित नयाँ भवनमा गर्ने गरी तयारी गरिएको लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो । हाल प्रदेशको अस्थायी मुकाम बुटवलमा भाडाको घरमा प्रदेशसभा सञ्चालन भैरहेको छ । देउखुरीमा राप्ती प्राविधिक शिक्षालयको जग्गामा प्रदेशसभाको भवन निर्माण भैरहेको हो ।
प्रदेशसभा भवनका लागि आवश्यक पर्ने सबै संरचना १२ हजार स्क्वायर फिटमा तयार हुनेछन् । प्रदेशसभाको सभाहल भने ७ हजार स्क्वायर फुटमा तयार भैरहेको प्राधिकरणका प्रमुख घिमिरेले बताउनुभयो ।
प्रतिक्रिया