डडेल्धुरा ।
नेकपा एमाले जिल्ला कमिटी डडेल्धुराका अध्यक्ष डा. तारा जोशीसहितको टिम नेकपा (एकीकृत समाजवादी) पार्टीमा समाहित भएको छ । बुधबार एक कार्यक्रमका बीच नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले जोशी नेतृत्वको जिल्ला कमिटीलाई पार्टीमा स्वागत गरेको हो। साविकको नेकपा एमाले ५१ सदस्यीय जिल्ला कमिटीमध्ये अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिवलगायत ३८ जना समाजवादी पार्टीमा समाहित भएको तत्कालीन एमाले जिल्ला कमिटी सचिव धनबहादुर साउदले बताए।
एमाले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति भंग गर्दै पार्टी कब्जा र कम्युनिष्ट सिद्धान्तको बर्खिलाप गरेकाले आफू लगायतको सिंगो टिम एकीकृत समाजवादी पार्टीमा समाहित भएको तत्कालीन एमाले अध्यक्ष जोशीले बताए।
डडेल्धुराका १६ वटा जनवर्गीय संगठनमध्ये १४ वटा जनवर्गीय संगठन समाजवादी पार्टीमा समाहित भएका छन्। प्रेस चौतारी नेपाल, अनेम संघ, युवा संघलगायतका १४ भ्रातृ संगठनका प्रमुखसहित बहुमत सदस्य पनि समाजवादीमा सामेल भएका हुन्। तत्कालीन एमालेका २ हजार ९ सय क्रियाशील सदस्यहरूमा २ हजार २ सय सदस्य समाजवादी पार्टीमा खुलेको नेता जोशीले बताए।
नेकपा एमाले मा अध्यक्ष ओली र माधव नेपालबीच अन्तरसंघर्ष चलिरहँदा डडेल्धुरा अध्यक्ष जोशी नेपाल पक्षमा थिए। एमालेका उपमहासचिव घनश्याम भुसाल निकट जोशी पार्टी विभाजन हुँदा भने पूर्ववत् जिम्मेवारी पाउने अपेक्षामा पार्टीमै रहेका थिए। तर, अध्यक्ष डा।जोशीको ठाउँमा ओलीले एमाले अध्यक्षको रूपमा प्रकाश साउदलाई जिम्मेवारी दिए।
साउद समूहले डडेल्धुरामा गाउँ तथा नगर अधिवेशनमा जोशी समूहलाई जानकारी नै नगराई एकलौटी रूपमा नेतृत्व चयन समेत गरेका थिए। एमाले अध्यक्ष जोशी रहेको र १० बुँदे सहमति कार्यान्वयन नभए पार्टी दुई भागमा विभाजन हुने जोशी समूहका नेता कार्यकर्ताले चेतावनी समेत दिएका थिए। ओलीले पार्टीभन्दा पनि गुट चलाउन खोजेकाले एकीकृत समाजवादीमा समाहित भएको जोशीको दाबी छ।
प्रतिक्रिया