काठमाण्डौ ।
नेपालमा अहिलेसम्म १८ वर्षभन्दा माथिको जनसङ्ख्याको झन्डै ३८ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ वर्षमाथिको जनसङ्ख्या एक करोड ९९ लाख २२ हजारमध्ये ३७ दशमलव ६ प्रतिशत अर्थात् ७४ लाख ८२ हजार एक सय ९५ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।
यस्तै ४३ दशमलव नौ प्रतिशत अर्थात् ८७ लाख ५० हजार नौ सय ६० जनाले कम्तीमा एक मात्रा खोप लगाएका छन् । अहिलेसम्म कुल एक करोड ६२ लाख ३३ हजार एक सय ५५ मात्रा खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले १८ वर्षभन्दा मुनिका बालबालिकाका लागि पनि खोप लगाउन खरिद प्रक्रिया सुरु भइसकेको जनाएको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा थप चार सय ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ हजार आठ सय १४ जनाको नमुना परीक्षण गर्दा चार सय ४० जना अर्थात ६ दशमलव ४५ प्रतिशतमा सङ्क्रमण देखिएको छ । यस्तै यही अवधिमा चार सय ७४ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९६ हजार सात सय ८० पुगेको छ । पछिल्लो २४ घण्टामा ६ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ६० पुगेको छ । अहिले नेपालमा सात हजार पाँच सय १९ जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया