चन्द्रकान्त न्यौपाने, चार नम्बर ।
‘मेरो गणना मेरो सहभागीता’ भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको १२ औं जनगणनाको लागि कपिलवस्तुमा दोश्रो चरणमा ५ सय ८२ जना गणक खटिने भएका छन् । कार्तिक २५ गतेदेखि जिल्लाका १० पालिकाका घरघरमा पुगेर गणकहरुले पुर्ण विवरणसहितको सही र तथ्य तथ्यांक लिन लागेका हुन् । यसको लागि सबै तयारी पुरा भएको छ ।
सामाजिक, आर्थिक, भौगोलिक, भौतिक पूर्वाधार र अन्य पक्ष समेटिने गणनाका लागि केन्द्रदेखि वडास्तरसम्मका समन्वय संरचना तयार गरिएको जिल्ला जनगणना कार्यालय कपिलवस्तुका प्रमुख नन्दलाल कुर्मीले जानकारी दिनुभयो । उहाँका अनुसार यसको लागि के कसरी तथ्यांक लिनेबारे भन्दै कार्तिक १३ देखि १६ गतेसम्म गणकहरुलाई तालिम दिइसकिएको छ । दुई चरणमा गरिने जनगणनामा यसअघि जिल्लामा १३९ सुपरीवेक्षकहरुले पहिलो चरणको काम सम्पन्न गरिसकका छन् । गणकहरुलाई सही र सत्य जानकारी दिएर असल नागरिकको परिचय दिन कार्यालयले आग्रह गरेको छ ।
यस पटक घर तथा घरपरिवार लगत सूचीकरणका लागि २५, मुख्य ५५ र पहिलो पटक सामुदायिक प्रश्नावलीसहित ८० वटा प्रश्न समावेश गरिएको कुर्मीले बताउनु भयो । त्यही नुमनाको फारम गणकहरुले घरघरमा पुगेर भर्ने छन् । १० पालिकामध्ये बुद्धभूमिले प्रश्नावली वितरणको कार्यसम्पन्न गरिसकेको छ । त्यहाँ ७७ जना गणक खटिदै छन् । यता बाणगंगा नगरपालिका पनि प्रश्नावली वितरणको तयारीमा रहेको जनगणना अधिकारी टंक प्रसाद आचार्यले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । बाणगंगामा १०६ जना गणक फिल्डमा खटिँदै छन् । अन्य पालिकामा पनि तयारी अन्तिम चरणमा पुगेको कुर्मीले जानकारी दिनुभयो । असल नागरिकको कर्तव्य सम्झेर सही तथ्यांक उपलब्ध गराउन कुर्मीले जिल्लाबासीमा आग्रह गर्नुभएको छ । आउँदो मङ्सिर ९ गतेसम्म जनगणना हुने छ ।
गणकहरुले संकलन गरेको तथ्यांक सामुहिक प्रयोजनमा मात्र प्रयोग हुने भन्दै ढुक्क भएर विवरण दिन कुर्मीले विशेष आग्रह गर्नुभयो । गणनामा भरेका ब्यक्तिगत विवरण सबै सुरक्षित रहने छन् । एक गणकले करिब एक सय पचास घरसम्म पुग्नुपर्ने दायित्व दिइएको केन्द्रिय विभागले जनाएको छ । जो मानिस जहाँ बढी बसोबास गर्छ, त्यहीबाट उसको गणना हुनेछ । देशैभर कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म जनगणना हुने छ । जनगणना सकिएको तीन महिनामा प्रारम्भिक नतिजा आउनेछ । १०–१० वर्षमा गरिने जनगणनाले देश विकासका लागि खाका तयार गर्न सहयोग पुग्ने सरकारको विश्वास छ । देशमा पहिलो जनगणना एक सय ९ वर्षअघि विसं १९६८ मा चन्द्रशम्शेर राणा प्रधानमन्त्री भएका बेला थालनी भएको थियो ।
प्रतिक्रिया