एजेन्सी ।
युनाइटेड अरब इमिरेट्स (यूएई)मा भइरहेको आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत सुपर १२ चरणको अन्तिम तीनमध्ये दुई खेल आज हुँदैछ । जसबाट सेमिफाइनल पुग्ने अन्तिम एक टोलीको टुङ्गो पनि आजै लाग्नेछ ।
सुपर १२ को ग्रुप २ मा आज भारत र नामिबिया तथा न्युजिल्याण्ड र अफगानिस्तानबीच खेल हुँदैछ ।
यस समूहबाट लगातार चार खेल जित्दै पाकिस्तानले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । पाकिस्तानले सोमबार स्कटल्याण्डसँग अन्तिम खेल खेल्नेछ ।
त्यसअघि आज हुने दुई खेल प्रतिक्षित बनेको छ । दिउँसो हुने पहिलो खेलमा न्युजिल्याण्ड र अफगानिस्तान भिड्दैछन् । यस खेल न्युजिल्याण्डले जितेमा सिधैं सेमिफाइनलमा स्थान बनाउनेछ भने भारत अन्तिम खेलअघि नै बाहिरिनेछ ।
यदि अफगानिस्तानले न्युजिल्याण्डलाई हराएमा भारतको सम्भावना जिवित रहनेछ । त्यस्तो अवस्थामा भारतले नामिबियालाई फराकिलो अन्तरले हराउनुपर्नेछ । सुरुआती दुई खेलमा पाकिस्तान र न्युजिल्याण्डसँग पराजित भएको भारतले अफगानिस्तान र स्कटल्याण्डलाई हराएको थियो ।
न्युजिल्याण्ड चार खेलबाट ६ अंकसहित समूह दुईको दोस्रो स्थानमा छ । चा÷चार अंक रहेका भारत र अफगानिस्तान क्रमशः तेस्रो र चौथो स्थानमा छन् । दुई अंक रहेको नामिबिया र अंकविहीन स्कटल्याण्ड भने बाहिरिसकेको छ ।समूह एकबाट इंग्ल्याण्ड र अष्ट्रेलिया क्रमश ः समूह विजेता र उपविजेता बन्दै सेमिफमाइनल पुगिसकेका छन् ।
प्रतिक्रिया