१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

कपिलवस्तुमा यसपटक विगतमा झैं गुञ्जिएन देउसी-भैलो, यस्तो छ कारण



बाणगंगा ।

तिहार भन्ने बित्तिकै झिलिमिली बत्ती र देउसी–भैलोको सम्झना सबैलाई हुन्छ । तर यसपालि चाडलाई उल्लास थप्ने देउसी–भैलो दुर्लभजस्तै भएको छ । कोरोना महामारीका कारण पहाड र तराई–मधेस सबैतिर देउसी र भैलो खेल्न आउने टोली त्यति देखएनन् ।
पौराणिक कथा अनुसार बलिराजाले घरघर पुगेर देउसी–भैलो खेल्न उर्दी गरेपछि तिहारमा यसको चलन शुरु भएको हो । लक्ष्मीपूजा गरेपछि महिलाहरु भैलो खेल्न र गोवर्धन पूजा गरेपछि पुरुषहरु देउसी खेल्न हिँड्ने प्रचलन छ ।

संस्कृति र परम्परा कुनै पनि समुदायको पहिचान हो । नेपालीको साझा संस्कृतिको रुपमा विकास भएको दशैं, तिहार र छठ जस्ता चाडपर्वको महत्व घट्न दिन नहुने कपिलवस्तुका एक जना संस्कृतिप्रेमी बुद्धिसागर बेलबासे बताउनु हुन्छ । यसपालि देउसी–भैलोको स्वर गाउँ शहरमा कम गुञ्जिएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

जिल्लाको बाणगंगा, तौलिहवा, कृष्णनगर, चन्द्रौटा, गोरुसिंगे, बनगाई, गजेहडा लगायतका क्षेत्रमा दर्जनौँ भैली टोली आए पनि यसपटक भने त्यति धेरै देख्न सकिएन । तिहारको दिन हिजो पनि त्यति देउसी भैली टोली देख्न सकिएन ।सर्वसाधारणलाई देउसी भैली कहाँ छ भनेरै खोज्दै हिँड्नु पर्ने स्थिति समेत बनेको बाणगंगा ४ का रामु न्यौपानेले बताउनु भयो ।

बाणगंगा नगरपालिकाका बिभिन्न क्षेत्रमा विगतमा लक्ष्मीपूजाका दिनदेखि भाइटीकाको मध्यरातिसम्म देउसी–भैलो खेल्ने टोलीको लर्को हुन्थ्यो । बालबालिका, युवा र पाकाहरुको छुट्टाछुट्टै टोली हुन्थ्यो देउसीको । तर यसपालि गाउँमा दुई चारवटा देउसी र भैलो टोली मात्र डुलेको बाणगंगाका स्थानीयबासी ७७ बर्षिय खिमानन्द न्यौपाने बताउनु हुन्छ । कपिलवस्तुमा मात्र होइन पहाडी जिल्ला अर्घाखाँचीमासमेत देउसी–भैलोको चहलपहल अत्यन्त कम भएको पत्रकार घनश्याम पौडेलले बताए । कोभिड–१९ को महामारी समाप्त नभएकाका कारण हिँडडुलमा स्वनियन्त्रण हुँदा देउसी–भैलो सुनसान भएको उहाँको बुझाइ छ ।

कोरोना नै देउसी–भैलो खेल्नेको संख्या कम हुनुको मुख्य कारण भएपनि नयाँ पुस्तामा बढिरहेको इन्टरनेट लत पनि यसको अर्को कारण भएको मानिन्छ । इन्टरनेटको सहज पहुँचका कारण बालबालिका तथा किशोर पुस्ता मनोरञ्जनका लागि मोबाइलमा ‘भर्चुअल गेम’ र सामाजिक सञ्जालमा नै मस्त देखिन्छन् । यस्तै प्रशासनको कडा निर्णयले पनि भैली खेल्नेहरु त्यति खुल्न पाएनन् । राति ८ बजेसम्म मात्रै खेल्न दिइने र देउसी खेल्दा पनि झण्झटिलो फारम भर्नु पर्ने कारण पनि धेरैले देउसी समुह नै नबनाएको बताइन्छ ।

कोरोना महामारीको चपेटामा परेर धेरै आफन्त र छिमेकी गुमाएका कारण सर्वसाधारणमा अझै पनि त्रास व्याप्त छ । कपिलवस्तुका अधिकांश पालिकाले तिहार अघि सूचना जारी गरी राति अबेरसम्म देउसी नखेल्न सचेत गराएका थिए । यस्तै प्रशासनको निर्णयको कारण पनि धेरै देउसी भैली हुन पाएनन् । प्रशासनले राति ८ बजेसम्म मात्र खेल्न अनुमति िदएको छ भने भैली फारम नै भरेर खेल्न भनेको हुनाले पनि धेरैलाई यो झण्झट लागेर देउसी खेलेनन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७८ आइतबार ००:००  ६ : १९ बजे