पाल्पा ।
तिहारमा देउसीभैलो खेल्ने परम्परा छ । बलिराजाका पालादेखि नै समूह बनाएर देउसीभैलो खेल्ने चलन अझ पनि कायमै छ । तर पहिलेको तुलनामा भने हिजोआज देउसीभैलो खेल्न निस्कने समूह कमै मात्रामा भेटिन्छन् ।
केही युवा समूह मिलेर परम्परा धान्न र सामाजिककार्यका निम्ति देउसीभैलो खेल्ने गरेका छन् । देउसीभैलोको मौलिक परम्परा भने गाउँघरमा हट्दै गएको छ ।
देउसी खेल्ने केही युवा समूह निस्के पनि मौलिक भाका गाउने भने अहिले देख्नै पाइँदैन । तिहारमा मेमोरीकार्ड, युट्युबबाट गीत बजाएर नाच्ने चलन छ । यसले मौलिकरूपमा तिहारका गीत गाएर नाच्ने चलन हिजोआज कतै पनि देख्न पाइँदैन ।
भैलेनी आयौँ आँगन बडाली कुडाली राखन, आहैँ औँसीको बार गाईतिहार भैलीराम ।
हरियो गोबरले लिपेको लक्ष्मी पूजा पुजेको, आहैँ औँसीको बार गाईतिहार भैलो ।।
हामी त्यसै आएनौँ बलिराजाले बोलाएका, आहैँ औँसीको बार गाईतिहार भैलीराम ।
गीत गाएर गाउँभरि देउसीभैलो खेल्ने समूहले तिहारमा उत्साह छाउँथ्यो । कसैले गीत झिक्ने, केहीले भट्याउने, कोही नाच्ने गर्दा देउसीभैलो हेर्नेको भीड नै हुने गरेको पाल्पा रामपुरका देवराज अर्याल बताउँछन् ।
‘अहिले देउसीभैलो खेल्ने परम्परा नै परिवर्तन हुँदै गएको छ, गीत गाएर देउसी खेल्दाको मज्जा नै धेरै आउँथ्यो, हिजोआज त ठूला–ठूला साउण्ड सिस्टम बोक्छन्, इन्टरनेटमा खोजेर गीत बजायो अनि नाच्यो, संस्कृति यसरी परिवर्तन हुँदैछ’, उनले भने ।
उज्यालै–उज्यालैको पर्वका रूपमा लिइने दाजुभाइ र दिदीबहिनीबीचको मायाप्रेम प्रगाढ बनाउने तिहार पर्वले ढपक्कै गाउँघर बजारमा ढाकिसकेको छ ।
दाजुभाइ र दिदीबहिनीबीचको हाँसो, खुसी, मायाप्रेमलाई फराकिलो बनाउने तिहार पर्वमा बलिराजाको पालादेखि नै देउसीभैलो खेल्ने परम्परा चलिआएको कथन छ ।
सूचना प्रविधिको विकास, पश्चिमी संस्कृतिको प्रभावले गर्दा परम्परागतरूपमा भट्याउँदै देउसी र भैलो खेल्ने चलन यतिबेला विभिन्न स्थानबाट हट्दै गएको हो ।
स्थानीयवासी शिवकुमारी वाग्ले पश्चिमी संस्कृतिले समाजमा प्रभाव पार्न थालेपछि मौलिक परम्परागत देउसीभैलो गाउने चलन हराउन थालेको बताउँछन् ।
गाउँगाउँमा सूचना प्रविधिको विकास हुँदै जाँदा मौलिक संस्कृति हराउन थालेको हो । परम्परादेखि नै चलिआएका संस्कार संस्कृतिलाई जोगाइराख्न सबै लाग्नुपर्ने रामपुरका कलाकार लक्ष्मी तिवारीको भनाइ छ ।
फाट्टफुट्ट रूपमा अहिलेको देउसीभैलोमा विभिन्न ठाउँमा हिन्दी र अङ्ग्रेजी गीतले स्थान ओगट्न थालेको छ । मौलिक संस्कृतिको जगेर्नाका लागि युवापुस्ताले नै ध्यान दिनुपर्ने देखिन्छ ।
प्रतिक्रिया