९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

२४ घण्टामा कोरोना सङ्क्रमण दर ४ प्रतिशतभन्दा तल झर्‍यो



काठमाण्डौ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण दर चार प्रतिशतभन्दा तल झरेको छ । चार हजार आठ सय ४४ जनाको नमुना परीक्षण गर्दा तीन दशमलव ७७ प्रतिशत अर्थात् एक सय ८३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएका एक सय ८३ जनासहित पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख १४ हजार दुई सय ८९ जनामा र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९४ हजार आठ सय जनामा सङ्क्रमण पुष्टि भएको छ ।
२४ घण्टामा ६ सय ४९ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९४ हजार चार सय ३८ पुगेको छ ।

यही अवधिमा दुई जना सङ्क्रमितको ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ३८ पुगेको छ । अहिले नेपालमा आठ हजार चार सय १३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै २४ घण्टामा थप तीन हजार सात सय ७५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ७४ लाख ३३ हजार दुई सय ६६ जनाले पूर्ण मात्रा र ८७ लाख ३६ हजार ७८ जनाले कम्तीमा एक मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७८ शुक्रबार ००:००  ५ : ३० बजे