काठमाडौं ।
कोरोनाभाइरस संक्रमणबाट दुई वर्षपछि विश्वले त्राण पाउन थालेको छ । सन् २०१९ को अन्त्यदेखि यो भाइरस संसारभरि महामारीका रूपमा फैलिएको थियो ।
खासगरी केही महिनाअघिसम्म महामारीको चपेटमा परेर लकडाउनमै रहेका दक्षिण एसियाली मुलुकहरूले बिस्तारै यो संकटबाट राहतको सास फेर्न थालेको तथ्यांकहरूले देखाएका छन् ।
विश्वव्यापी कोरोना संक्रमणको रेकर्ड राख्दै आएको वर्ल्डोमिटरमा उल्लिखित तथ्यांकअनुसार दक्षिण एसियाका आठवटै मुलुकमा कोरोनाको नयाँ बिरामी संख्या ह्वात्तै घटेको देखिन्छ । विभिन्न उमेर समूहका लागि चरणबद्ध रूपमा सञ्चालित खोप अभियान र मास्कको व्यापक प्रयोगले संक्रमण दर घटेको हो ।
सबभन्दा बढी सुधार भारतमा देखिन्छ । छ महिनाअघिसम्म त्यहाँ दिनकै सवा ४ लाख कोरोना संक्रमित थपिन्थे । बुधबार झन्डै १४ हजारमा झरेको छ । गत मे महिनामा भारतको संक्रमण दर उत्कर्षमा थियो । त्यति बेला दिनकै ४ हजारभन्दा बढीको कोरोनाका कारण मृत्यु हुन्थ्यो ।
नेपालमा पनि संक्रमण उत्कर्षमा पुग्दा दैनिक ९ हजार हाराहारी नयाँ बिरामी थपिन्थे । अहिले दैनिक ४ सयभन्दा कम छ । बुधबारको तथ्यांक हेर्ने हो भने ३ सय ९५ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, छ महिनाअघि पाकिस्तानमा दैनिक ६ हजार हाराहारीमा कोरोना संक्रमण फेला पर्ने गरेको थियो । त्यो पाकिस्तानको उत्कर्ष विन्दु हो । अहिले दैनिक संक्रमण ६ सयभन्दा कम छ। बुधबार ५ सय ६१ जनामा संक्रमण फेला परेको थियो ।
बंगलादेश र मालदिभ्सको अवस्था नेपालको भन्दा राम्रो छ । बंगलादेशमा अप्रिल महिना दोस्रो चरणको लहर आउँदा संक्रमण उत्कर्षमा पुगेको थियो । त्यति बेला दिनकै झन्डै १४ हजार व्यक्ति कोरोनाग्रस्त हुन्थे । अहिले ३ सयभन्दा कम छ । तथ्यांकअनुसार बुधबार बंगलादेशमा २ सय ५६ जनामा संक्रमण फेला पर्यो ।
मालदिभ्समा भने बुधबार २ सय १९ जनामा संक्रमण पाइएको छ । त्यहाँको उत्कर्ष विन्दु गत मे महिनालाई मानिन्छ जब दैनिक हजार जनाभन्दा बढीलाई कोरोना लाग्ने गरेको थियो ।
श्रीलंकामा अझै पनि संक्रमण दर दैनिक ६ सय हाराहारी छ । बुधबार त्यहाँ ५ सय ८१ जना नयाँ संक्रमित थपिए । महामारी उत्कर्ष विन्दुमा हुँदा त्यहाँ दिनकै ६ हजार हाराहारीलाई संक्रमण हुने गरेको थियो ।
अफगानिस्तान र भुटानमा त संक्रमण दर अत्यन्तै कम छ । भुटानमा बुधबार जम्मा एक जनालाई संक्रमण भएको वर्ल्डोमिटरले जनाएको छ भने अफगानिस्तानमा १६ जनालाई संक्रमण भएको छ ।
भुटानमा कोरोना संक्रमण अन्य दक्षिण एसियाली मुलुकको दाँजोमा निकै कम रह्यो । उता अफगानिस्तानमा कोरोना परीक्षण नै कम भएकाले संक्रमणको यथार्थ तथ्यांक बाहिर आएन ।
प्रतिक्रिया