९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तुका किसानलाई धान काट्ने चटारो



मायादेवी अनलाइन, वाणगंगा ।
तिहारको रमझमले छपक्क छापेको छ । असारमा रोपेको धानको बाला लहलहाउँदो भई काट्न ठिक्क परेको छ । केही किसानले काटिसकेका छन्, केहीलाई धान काट्ने चटारो परेको छ । तिहार नजिकिँदै गए पनि किसानलाई भने बिहानैदेखि धान काट्ने र भित्र्याउने चटारोले छोएको छ ।

केही समयअघि आएको बेमौसमी हावाहुरीसहितको वर्षाले विभिन्न ठाउँमा खेतबारीमा लगाइएको अन्नबालीमा क्षति पु¥याएको थियो । पाक्नै लागेको धान हावा र पानीले भुँइमा ढलाएपछि किसानले नोक्सानी व्यहोर्नु¥यो । मौसमले साथ नदिए पनि अहिले किसानलाई धान काट्नका लागि चटोरो रहेको छ ।

यस वर्ष असारमा वर्षा राम्रै भएका कारण समयमा नै धान रोप्न भ्याएका किसान राम्रो उत्पादन हुने आशामा थिए । तर, बेमौसमी वर्षाका कारण सोचेअनुसार धान भित्र्याउन नपाएकोे किसानहरू बताउँछन् । ‘काट्ने वेलाको धान ढल्यो । तर, नोक्सानी भने धेरै हुन पाएको छैन,’ जिल्लाको बुद्धभूमि नगरपालिका– ४ बुड्ढीका किसान हेमन्त चौधरीले भने्, ‘बेमौसमी वर्षाले ठूलो क्षति पु¥याउँछ कि भन्ने चिन्ता थियो । धन्न हावाले ढलाएको धान पनि केही उठ्यो । त्यसैले धेरै क्षति हुन पाएन । त्यस्तै १० प्रतिशत धानमा असर भएको होला नत्र राम्रै भएको छ ।’

उनले अहिले गाउँघरमा किसानहरू धान भित्र्याउने चटारोमा रहेको बताए । जिल्लाको १० वटै पालिका धान खेती हुँदै आएको छ । वाणगंगा लगायतका क्षेत्रमा सिंचाई सुविधा भएपनि अधिकांश क्षेत्रमा सिंचाईको सुविधा छैन् । यद्यपि यो पालि धान रोप्ने र धान फूलखेल्ने बेला बर्षात भएको कारण धान उत्पादनमा केही बृद्धि हुने अनुमान छ ।

जिल्लामा झण्डै ८३ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिदैं आइएको छ । अघिल्लो वर्षभन्दा यस वर्ष केही मात्रामा उत्पादन वृद्धि हुने अनुमान गरिए पनि बेमौसमी वर्षाका कारण अपेक्षा गरिएअनुसार उत्पादन हुन नसकेको कृषि ज्ञान केन्द्रका अधिकारीहरु बताउँछन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७८ बिहिबार ००:००  १ : ०७ बजे