८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

लिभरपुल च्याम्पियन्स लिगको नकआउट चरणमा, हार्यो एट्लेटिको



एजेन्सी । स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमाथि सहज जित निकाल्दै इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरेको छ ।

१० खेलाडीमा समेटिएको एट्लेटिकोलाई २–० ले पराजित गर्दै लिभरपुलले समूह चरणको दुई खेल बाँकी छँदै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो । घरेलु मैदान एनफिल्डमा बुधबार राति भएको खेलमा लिभरपुलको जितमा डिएगो जोटा र साडियो मानेले गोल गरे । दुवै गोल पहिलो हाफमा ९ मिनेटको अन्तरमा भएको थियो ।

खेलको १३औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए । उनले ट्रेन्ट एलेक्सान्डर अर्नोल्डको पासमा गोल गरेका थिए । २१औं मिनेटमा अर्नोल्डकै पासमा साडियो मानेले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।

३६औं मिनेटमा एट्लेटिको म्याड्रिड १० खेलाडीमा समेटिन पुग्यो । फिलिपे सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एट्लेटिको समस्यामा परेको थियो । ४८औं मिनेटमा डिएगो जोटाले गोल गरेपनि अफसाइड ठहरिदा उनको गोलले भिएआरबाट मान्यता पाएन ।

५७औं मिनेटमा लुइस सुआरेजले गोलले पनि भिएआरबाट मान्यता पाएन । उक्त गोलको मुभमा सुआरेज अफसाइड देखिएको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुलले जित निकाल्न सफल भयो ।

जितपछि समूह ‘बी’ मा अपराजित रहेको लिभरपुलले ४ खेलबाट १२ अंक जोड्यो । पराजित एट्लेटिको ४ अंक जोडेर तेस्रो स्थानमा झरेको छ । एफसी पोर्टो ५ अंक जोडेर दोस्रो स्थानमा उक्लदा मिलानले समूहमा पहिलो अंक जोडेको छ ।

यही समूहको अर्को खेलमा एसी मिलानले एफसी पोर्टोसँग १–१ गोलको बराबरी खेल्दै च्याम्पियन्स लिगमा पहिलो अंक जोडेको छ । पोर्टोका लुइस डियाजले गोल गर्दा मिलानले उपहार गोल पाएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०७८ बिहिबार ००:००  ६ : ०१ बजे