एजेन्सी ।
इन्ज्युरी समयमा सम्हालिन नसक्दा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) युइएफए च्याम्पियन्स लिगमा जर्मन क्लब आरबी लाइप्जिगसँग बराबरीमा रोकिएको छ ।
एक गोलले पछि परेको अवस्थामा जर्जिन्हो वाइनाल्डमले दुई गोल गरेपनि पीएसजीले घरेलु टोली लाइप्जिगसँग २–२ गोलको बराबरी खेलेको हो । लाइप्जिगका क्रिस्टोफोर एनकुकु र डोमिनिक सोबोस्लाईले गोल गरे ।
रेडबुल एरिना लाइप्जिग जर्मनीमा बुधबार राति भएको खेलमा घरेलु टोलीले खेलको आठौं मिनेटमा क्रिस्टोफोर एनकुकुको गोलबाट अग्रता लिएको थियो । उनले आन्द्रे सिल्भाको पासमा गोल गरेका थिए । १२औं मिनेटमा आन्द्रे सिल्भा पेनाल्टीमा चुक्दा लाइप्जिग पनि अग्रता दोब्बर पार्नबाट चुक्यो ।
२१औं मिनेटमा जर्जिन्हो वाइनाल्डमले गोल गर्दै पीएसजीलाई खेलमा १–१ गोलको बराबरीमा ल्याए । उनले केलियन एमबाप्पेको पासमा गोल गरेका थिए । ३९औं मिनेटमा वाइनाल्डमले मार्किन्हसको पासमा गोल गर्दै पीएसजीलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।
जिततर्फ अघि बढेपनि अन्तिम समयमा प्रेसनेल किमपेम्वेले गल्ती गर्न पुगेपछि पीएसजी जितबाट वञ्चित बन्यो । पेनाल्टी बक्समा किमपेम्वेले एनकुकुलाई फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै लाइप्जिगलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा डोमिनिक सोबोस्लाई चुकेनन् ।
यो बराबरीपछि पीएसजी ४ खेलबाट ८ अंक जोडेर दोस्रो स्थानमा झरेको छ । शीर्षस्थानको म्यानचेस्टर सिटीको ९ अंक छ । पहिलो अंक जोडेको लाइप्जिग पुछारमा छ । क्लब ब्रुग ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया