३ पुस २०८१, बुधबार | Wed Dec 18 2024

च्याम्पियन्स लिगः म्यानचेस्टर सिटीको सानदार जित



एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिगमा बेल्जियन टोली क्लब ब्रुगमाथि सानदार जित निकाल्दै शीर्षस्थानमा उक्लिएको छ ।

सिटीले घरेलु मैदानमा क्लब ब्रुगमाथि ४–१ को फराकिलो जित निकालेको हो । सिटीको सानदार जितमा फिल फोडेन, रियाद महारेज, रहिम स्टर्लिङ र गाब्रियल जेससले गोल गरे । क्लब ब्रुगले एक गोल उपहार पाएको थियो ।

इतिहाद स्टेडियममा गोलको वर्षा भएको खेलमा घरेलु टोली सिटीले खेलको १५औं मिनेटमा फिल फोडेनको गोलबाट अग्रता लिएको थियो । उनले जोओ क्यान्सिलोको पासमा गोल गरेका थिए । तर, सिटीको त्यो अग्रता दुई मिनेट पनि टिकेन । १७औं मिनेटमा जोन स्टोन्सले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुगेको थियो ।

दोस्रो हाफमा सिटीले तीन गोल थप्दै जित पक्का ग¥यो । ५४औं रियाद महारेजले जोओ क्यान्सिलोको पासमा गोल गर्दै सिटीलाई २–१ ले अघि बढाए । ७२औं मिनेटमा इल्केए गुन्डोगानको पासमा रहिम स्टर्लिङले गोल गर्दै सिटीलाई फराकिलो जिततर्फ अग्रसर गराए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा गाब्रियल जेससले क्यान्सिलोकै पासमा गोल गर्दै सिटीलाई ४–१ को फराकिलो जित दिलाए ।

यो जितपछि सिटी समूह ‘ए’ मा ४ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पराजित क्लब ब्रुग ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पीएसजी ८ अंक जोडेर दोस्रो स्थानमा रहँदा आरबी लाइप्जिग १ अंक जोडेर पुछारमा रहेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७८ बिहिबार ००:००  ५ : ५४ बजे