काठमाण्डौ ।
जापानकी राजकुमारी माकोले सर्वसाधारण एक युवकसँग विवाह गर्नुभएको छ । विवादका बीच उहाँले आज मङ्गलवार सामान्य प्रक्रिया अपनाएर विवाह गर्दै राजदरबारबाट बाहिरिनुभएको छ । त्यसअघि उहाँले आफ्ना बुबा युवराज फुमिहितो र युवराज्ञी किकोलाई निहुरिएर बिदाइ अभिवादन गर्नुभएको थियो भने आफ्नी बहिनीलाई अँगालो हाल्नुभएको थियो ।
जापानको शाही परिवारसम्बन्धी नियमअनुसार उहाँले सर्वसाधारणसँग बिहे गरेसँगै उहाँको राजकीय पद पनि गुमेको छ । विश्वविद्यालयमा सँगै पढेका साथीसँग सुरु भएको राजकुमारी कोकोको प्रेम सम्बन्ध आजदेखि वैवाहिक सम्बन्धमा रूपान्तरण भएको हो । उहाँहरूको मगनी गएको सन् २०१७ मा भए पनि विवाहको मिति तय भएको थिएन ।
जापानका राजा नारुहितोकी ३० वर्षीया भतिजी माकोले उही उमेरका केइ कोमुरोसँग विवाह गर्नुभएको हो । उहाँका पति अमेरिकामा रहेको एउटा ल फर्ममा काम गर्दै आउनुभएको छ । विवाहपछि राजकुमारी माको पनि अमेरिका जानुहुने भएको छ । उहाँहरूको विवाहमा राजपरिवारका सदस्यको विवाहका बेला गरिने परम्परागत विधि पनि अवलम्बन गरिएको छैन भने उहाँले राजपरिवारबाट बिदा हुँदा महिला सदस्यले पाउने नगद पनि त्याग्नुभएको छ । यी दुवै कुरा परित्याग गर्ने उहाँ जापानको राजपरिवारकी प्रथम महिला सदस्य भएको बताइएको छ । राजपरिवारकी सदस्यले सर्वसाधारणसँग विवाह गर्न लागेको भन्दै उहाँहरूको विवाहका बारेमा टिकाटिप्पणी हुदै आएको थियो । विरोधकाबीच पनि शाही पदवीसमेत गुमाएर राजकुमारी माकोले सर्वसाधारण एक युवासँग विवाह गरेको विषय विश्वभरि भने सकारात्मक चर्चाको विषय भएको छ ।
प्रतिक्रिया