११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

प्रधानन्यायाधीशले भने- म राजीनामा दिन्नँ, तपाईँहरुले दिने भए सोचौँला



काठमाडौँ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सहकर्मी न्यायाधीशहरुसँग आफूले राजीनामा नदिने स्पष्ट पारेका छन् । अघोषित रुपमा इजलास बहिष्कार गरेर सामूहिक छलफलमा जुटेका सर्वोच्चका न्यायाधीशहरुले मंगलबार प्रधानन्यायाधीश राणालाई भेटेर राजीनामा दिन आग्रह गरेका हुन् ।
तर जवाफमा प्रधानन्यायाधीश राणाले सडकबाट राजीनामा माग्दैमा आफूले पद नछोड्ने स्पष्ट पारेका हुन् ।
स्रोतले भन्यो, ‘न्यायाधीशहरुले तपाईँका विषयमा धेरै प्रश्न आयो । विवाद झन फैलिने भयो । राजीनामा दिनुस् भन्नुभयो । जवाफमा प्रधानन्यायाधीशले सडकबाट राजीनामाको माग आउँदैमा आफूले नदिने बताउनु भयो ।’
प्रधानन्यायाधीश राणाले ‘तपाईँहरुले गरेका आदेश–फैसलालाई लिएर पनि विवाद भएको छ । सो विवादित फैसलामा सामेल तपाईँहरुले पनि राजीनामा दिने भए म पनि दिन्छु । होइन भने सडकबाट मागे भन्दै मैले राजीनामा दिन्नँ’ भनेको स्रोतले जानकारी दिएको छ ।
प्रधानन्यायाधीश राणाले आफ्नो संवैधानिक जिम्मेवारी रहेको र सो जिम्मेवारी पूरा गर्ने, राजीनामा नदिने जवाफ दिएपछि सर्वोच्चका न्यायाधीशहरु फेरि सामूहिक छलफलमा जुटेका छन् ।
प्रधानन्यायाधीश राणामाथि न्यायिक विचलन, राजनीतिक भागबण्डा तथा भ्रष्टाचारमा संलग्न भएको आरोप छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८ मंगलबार ००:००  १ : ०७ बजे