११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

अध्यक्षका आकांक्षीको ढिपीले एमाले बाणगंगामा सर्वसम्मति टर्दै



मायादेवी अनलाइन, वाणगंगा ।
बाढी पहिरो तथा डुबान प्रभावित बाहेकका क्षेत्रमा नेकपा एमालेको पालिका अधिवेशन आज हुँदैछ । यसै सन्दर्भमा कपिलवस्तुको बाणगंगा नगरपालिकामा पनि अधिवेशन सम्पन्न हुन लागेको हो ।

जिल्लाकै नेतृत्व र प्रभावशाली नेताहरुको पकड भएको बाणगंगा नगरपालिकामा अध्यक्षको लागि अहिलेसम्म ५ जनाले उम्मेदवारी दिने भएका छन् । अहिलेका अध्यक्ष युवराज पोख्रेल, सचिव विष्णु गिरी, वडा नम्बर २ का अध्यक्ष विष्णु पौडेल, वडा नम्बर ५ का अध्यक्ष भीष्मराज भुसाल र पाका नेता मुक्त बहादुर कार्कीले उम्मेदवारी फिर्ता नलिने गरी अध्यक्षमा आफूहरुलाई उभाउनु भएको छ । उहाँहरुले कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने बताएपछि सहमति टरेर चुनाव नै हुन सक्भावना देखिएको हो ।

सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जसंग मंगलबार विहान कुराकानी गर्दै उहाँहरु सबैले आआफूले जित्ने दावीसहित आधारहरु प्रस्तुत गर्नु भएको छ । कुराकानीको क्रममा भए सहमतिमा आफूलाई नगर अध्यक्ष बनाउनु पर्ने र नभए चुनावको सामना गर्न तयार रहेको विष्णु गिरीले बताउनु भयो भने अरु नेताहरुले सहमतिबाट आफूहरुलाई पार्टीले चुन्नु पर्ने बताए ।

यता अध्यक्षमा आकांक्षी धेरै भएपछि पार्टी नेतृत्वलाई समस्या हुने देखिएको छ । एउटा पदको लागि ५ जना आकांक्षी भए पछि सर्वसम्मतिबाट नेतृत्व चयन गर्ने नेताहरुको प्रयास असफलतातर्फ उन्मुख भएको एक नेताले बताए । चुनाव गर्दा पछि गुटबन्दी सिर्जना हुने र पार्टीलाई नै असर पर्ने भएको हुँदा सहमतिबाटै नेतृत्व चयन हुने एमाले नेताहरु बताउँछन् ।

पार्टीमा योगदान र जिम्मेवारीको आधारमा अध्यक्ष चयन हुने उहाँको भनाई छ । ७ गते भएको वडा अधिवेशनबाट सहमतिमै नेतृत्व चयन भएको हुँदा जिल्लाका हरेक पालिकामा पनि सहमतिमै नेतृत्व चयन गर्ने कसरतमा पार्टी पंक्ति रहेको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८ मंगलबार ००:००  ८ : ५७ बजे