मायादेवी अनलाइन, वाणगंगा ।
मंगलबार (आज) हुन लागेको एमाले पालिका अधिवेशनमा वाणगंगा नगर अध्यक्षमा उठ्ने भीष्मराज भुसाल र मुक्त बहादुर कार्कीले घोषणा गर्नुभएको छ । यसभन्दा अगाडी नगर अध्यक्षमा युवराज पोख्रेल, विष्णु गिरी र विष्णु पौडेलले घोषणा गरिक्नुभएको छ ।
आज विहान रेडियो मायादेवीको समय संवाद कार्यक्रममा बोल्दै भुसाल र कार्कीले आफुहरु पनि अध्यक्षको दाबेदार रहेको प्रष्ट पार्नुभयो ।
यो पनि… यी हुन् एमालेबाट वाणगंगा नगरमा अध्यक्षका आकांक्षी
वडा नं. ५ का वडाध्यक्ष समेत रहनुभएका भुसालले २०५९ सालदेखि एमाले कोपवाको प्रमुख भएर काम सुरु गर्नुभएको थियो । भुसाल वडा, नगर हुँदै जिल्लाका विभिन्न पदमा रहेर काम गरिसक्नुभएको छ । २०४६ का अन्दोलनमा समेत आफुले भूमिका निर्वाह गर्दै संघर्ष गरेकाले आफु पहिले नै नेतृत्वदायी भूमिकामा आउन चाहेको उहाँले बताउनुभयो । पार्टीलाई नयाँ ढङ्गले अगाडि बढाउने तथा संगठनलाई बजबुत बनाउन पनि आफनो उम्मेदवारी रहेको उहाँको भनाई छ ।
अनेरास्ववियु, युवा संघबाट राजनीति सुरु गर्नुभएका भुसाल पहिलो वाणगंगा नगर अधिवेशनमा सचिव पदमा निर्वाचित हुनुभएको थियो । पार्टी एकता पश्चात नेकपाको जिल्ला कमिटीमा रहनुभएका भुसाल अहिले नगरको सचिवलाय सदस्य हुनुहुन्छ ।
युवाहरुमा पार्टी प्रतिको वितृष्णालाई चिर्दै गुटबन्दीको अन्त्यसंगै देशमा समृद्धि यात्रा तय गर्न आफ्नो भूमिका रहने उहाँले बताउनुभयो ।
यता अध्यक्षका अर्का आकांक्षी कार्कीले आफु एमालेको प्रमुख दाबेदार रहनुभएको प्रमाण पेश गर्नुभएको छ । हाल नगर कमिटीको उपाध्यक्ष हुनुले स्वभाविक रुपमा आफु नगर अध्यक्षको उम्मेदवार रहेको बताउनुभयो । ०६२/०६३ सालमा आफु साविक वाणगंगाको पार्टी प्रमुख रहेको र दोस्रो जनआन्दोलनको वाणगंगाबाट कमाण्ड सम्हालेको उहाँले इतिहास सुनाउनुभयो ।
तत्कालिन संविधानसभा निर्वाचन क्षेत्र नं. १ को क्षेत्रिय कमिटीको पदाधिकारी भएर काम गर्नुभएका उहाँले संघीयता पछिको पहिलो पालिका अधिवेशनमा अध्यक्षको दाबेदार रहनुभएको हो ।
लामो समय शिक्षण पेशामा आवद्ध कार्की हाल अध्यक्षमा उम्मेदवार घोषणा गर्ने मध्येका पाका नेता हुनुहन्छ ।
प्रतिक्रिया