११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

एमाले पालिका अधिवेशन आज, कपिलवस्तुमा यसरी हुँदै छ



मायादेवी अनलाइन, चारनम्बर ।

बाढी पहिरो तथा डुबान प्रभावित बाहेकका क्षेत्रमा नेकपा एमालेको पालिका अधिवेशन आज हुँदैछ । अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय, थापाथलीबाट १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्दै हुनुहुन्छ । पालिका अधिवेशनको उद्घाटनका लागि प्राविधिकलगायत तयारी पूरा भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

कपिलवस्तु जिल्लाका ६ नगरपालिका र ४ गाउँपालिकाका निम्ति २ हजार ६ सय ८४ जना प्रतिनिधी चयन गरेको एमाले जिल्ला संगठन विभागले जनाएको छ ।

जिल्लाका ९६ वटै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको एमाले कपिलवस्तुले नगर, गाउँपालिकाको नेतृत्व पनि सर्वसम्मत चयन हुनेमा आफु विश्वस्त रहेको एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले बताउनु भयो ।

गाउँ, नगर अधिवेशनमा वाणगंगा नगरपालिकाबाट ४ सय २५ जना, शिवराज नगरपालिकाबाट १ सय ५५ जना, महाराजगञ्ज नगरपालिकाबाट २ सय ५१ जना, कृष्णनगर नगरपालिकाबाट २ सय ४८ जना, बुद्धभूमि नगरपालिकाबाट ४ सय ५० जना, कपिलवस्तु नगरपालिकाबाट ३ सय ५४ जना, शुद्धोधन गाउँपालिकाबाट २ सय २३ जना, विजयनगर गाउँपालिकाबाट ३ सय १७ जना, मायादेवी गाउँपालिकाबाट १ सय ५७ जना र यशोधरा गाउँपालिकाबाट १ सय ४ जना प्रतिनिधीले भाग लिने एमाले जिल्ला प्रचार विभाग कपिलवस्तुले जनाएको छ ।

गाउँ नगर अधिवेशन सम्पन्न गर्नका निम्ति जिल्ला पार्टीले जिम्मेवारी समेत प्रदान गरेको जनाएको छ । गाउँ, नगर अधिवेशन सम्पन्न गर्नका निम्ति अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी प्रदान गरेको एमाले कपिलवस्तुका अध्यक्ष झविलाल पोख्रेलले बताउनु भएको छ ।

जस अन्तरर्गत वाणगंगा नगरपालिकाकाको संयोजकमा डम्मर शर्मा, शिवराज नगरपालिकाको संयोजकमा नेत्रराज अधिकारी, महाराजगञ्ज नगरपालिकाको संयोजकमा टेकराज पौडेल, कृष्णनगर नगरपालिकाको संयोजकमा शुशिल कुमार श्रीवास्तव बुद्धभूमि नगरपालिकाको संयोजकमा खुमप्रसाद आचार्य, कपिलवस्तु नगरपालिकाको संयोजकमा आजाद महमददर्जी, शुद्धोधन गाउँपालिकाको संयोजकमा विष्णु भण्डारी विजयनगर गाउँपालिकाको संयोजकमा मुस्ताफा मुसलवान, मायादेवी गाउँपालिकाको संयोजकमा द्रोणराज सुवेदी र यशोधरा गाउँपालिकाको संयोजकमा शान्तिदेवी चमारलाई तोकिएको एमाले कपिलवस्तुले जनाएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८ मंगलबार ००:००  ८ : २७ बजे