दीपा महत, वाणगंगा ।
नेकपा एमालेले भोलि (मंगलबार) देशभर पालिका अधिवेशन सम्पन्न गर्दै छ । आगामी दशौं राष्ट्रिय महाधिवेशन अन्तरगत यहि कार्तिक ६ गते एमालेले देशभर वडा अधिवेशन सम्पन्न गरेको थियो । मंगलबार देशभर पालिका अधिवेशन हुँदैछ ।
एमालेको दशौ महाधिवेशन अन्तरगत हुने पालिका अधिवेशनका लागि कपिलवस्तुका नगर तथा गाउँपालिकाहरुको नेतृत्व लिने आकांक्षीले उम्मेदवारी घोषणा गर्न लागेका छन् ।
जिल्लाको सबै भन्दा ठूलो नगरपालिका वाणगंगामा पनि नगर अध्यक्षका लागि ३ जना आकांक्षी देखिएका छन् । विद्यार्थी आन्दोलन देखिनै राजनितीमा सक्रिय रहदै आएका र विभिन्न जिम्मेवारी निर्वाह गरेकाले वाणगंगाको नेतृत्व आफुहरुले लिने उनीहरुको दाबी छ ।
यी हुन् अध्यक्षका आकांक्षी
विष्णु गिरी
कपिलवस्तु वाणगंगा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरीले मंगलबारको अधिवेशनमा नगर अध्यक्षको दाबेदार आफुपनि रहेको बताउनुभएको छ । युवा तथा यस क्षेत्रका जनताको माग अनुसार पार्टीलाई उर्जावान नेतृत्व आवश्यक पर्ने भएकाले आफ्नो उमेद्वारी रहने गिरीले मायादेवी अनलाइनसंग बताउनुभयो । वि.सं. २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनितीमा सक्रिय गिरी अहिले पनि पार्टीको विभिन्न पदीय जिम्मेवारी सम्हाल्दै आउनु भएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा वडा नम्बर ७ को वडा अध्यक्षमा निर्वाचित गिरी हाल नेकपा एमाले वाणगंगा नगरपालिका नगर कमिटी सचिव हुनुहुन्छ ।
गिरी यस अघि जनज्योती मावि मोतिपुरको प्रारम्भिक कमिटी सचिव हुनुहुन्थ्यो । २०४७ सालमा संगठित पार्टी सदस्यता प्राप्त गरेपछि उहाँ पटकपटक साविक मोतिपुर गाविस वडा नम्बर २ को सचिव, सिंगो मोतिपुर गाविसको पटक पटक उप-सचिव, सचिव भएर काम गर्नुभएको थियो ।
गिरीसंग इलाका कमिटी उपसचिव, क्षेत्रीय कमिटी उप-सचिव, क्षेत्रिय कमिटी सचिव, संघीयता पश्चात २ पटक नगर कमिटी सचिव, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कमिटी सदस्य तथा केन्द्रिय प्रतिनिधी भएर काम गरेको अनुभव छ ।
गिरी १४ वर्षे शिक्षण पेशाको अवधि रहदा रहदै २०७४ सालमा शिक्षण पेशाबाट राजिनामा दिएर वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । आफुलाई लामो समयसम्म मास लिडर, पार्टी लिडर र युवा लिडरको रुपमा प्रस्तुत गरेकाले पनि नगरपालिकाको नेतृत्व लिन आफु सक्षम रहेको गिरीको दाबी छ । पार्टीको प्रचार प्रसारमा लामो समयदेखि खटिएकाले पार्टी नेतृत्वले मुल्याङ्कन गरेर आफुलाई नेतृत्व दिनेमा आफु विश्वस्त रहेको उहाँले बताउनुभयो ।
नगर कमिटी सचिव गिरीले आफ्नो नेतृत्वमा नगर कमिटी सर्वसम्मत हुने बताउनुभएको छ । निर्वाचनमा जान पर्ने अवस्था आएमा जानुहुन्छ त ? भन्ने प्रश्नमा गिरीले भन्नुभयो,‘यदि सर्वसम्मत गर्नुपरे केन्द्रको सर्कुलर अनुसार जिल्लाको सबै पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयन गर्नुपर्यो । यदि सबै पदाधिकारी सर्व सम्मतका लागि माथिल्लो तहबाट नै प्रतिबद्धता आए त्यसमा मेरो कुनैपनि बिमती रहने छैन् । तर एक पदका लागि मात्र सर्वसम्मत गराए त्यो मेरा लागि स्विकार्य हुने छैन् गिरीले मायादेवी अनलाइनसंग भन्नुभयो ।’
विष्णु पौडेल
नेकपा (एमाले) वाणगंगा नगर कमिटी सचिवालय सदस्य विष्णु पौडेल पनि वाणगंगा नगरपालिका अध्यक्षको दाबेदार हुनुहुन्छ । पौडेल २०७४ सालको निर्वाचनमा वाणगंगा नगरपालिका वडा नम्बर २ को वडा अध्यक्षमा निर्वाचित हुनु भएको हो । पौडेलसंग पनि नेकपा एमालेको विभिन्न पदमा रहेर काम गरेको अनुभव छ । पौडेल यस अघि नेकपा एमाले वाणगंगा नगर कमिटी अध्यक्षकै उमेद्धार हुनुहुन्थयो । २०७३ सालको नगर अधिवेशनमा पौडेलले आफ्ना प्रतिद्वन्दी सूर्य पाण्डेसंग बराबर ९०–९० मत प्राप्त गर्नुभएको थियो । पछि गोला प्रथा गर्दा पौडेल पाण्डेसंग पराजित हुनुभएको हो ।
यस हिसाबले पनि स्वभाविक ढङ्गले आफु नगर अध्यक्षको उम्मेदवार रहेको पौडेलले बताउनुभयो । वडा नम्बर २ का वडाध्यक्ष तथा नगर प्रवक्ता समेत रहनुभएका पौडेल पनि विद्यार्थी जीवनबाट राजनितीमा होमिनुभएको हो । पौडेल २०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ गुल्मीको इलाका कमिटी सदस्य हुनुहुन्थ्यो । २०५४ सालमा अनेरास्ववियु कपिलवस्तुको उपाध्यक्ष बन्नु भएका पौडेल २०५१ साल देखि ५६ साल सम्म नेकपा एमाले वाणगंगा गाउँ कमिटी सचिव भएर काम गर्नुभएको थियो भने, युवा संघ नेपाल लुम्बिनी अन्चल कमिटी सदस्य पनि हुनुहुन्थ्यो ।
नेकपा एमाले वाणगंगा गाउँ कमिटी अध्यक्ष भएर ४ कार्यकाल सम्हाली सक्नुभएका पौडेलले विगतको आफ्नो अनुभव र अहिलेको चाहना अनुरुप आफु नगरको नेतृत्व लिन सक्षम रहेको दाबी गर्नुहुन्छ । पार्टीमा आफुले गरेको योगदानको मुंल्याकन हुने पनि उहाँ बताउँनुहुन्छ ।
पौडेलले आफ्नो नेतृत्वमा नगर कमिटी सर्वसम्मत हुने भन्दै यदि यसो हुन नसकेमा निर्वाचन हुने प्रष्ट पार्नुभयो । ‘मेरो नेतृत्वमा सर्व सम्मत हुन्छ भन्नेमा विश्वस्त छु, यदि त्यसो भएन भने निर्वाचन हुने छ । सकेसम्म निर्वाचन नहोस र मेरो मुल्याङ्कन पार्टीले गर्ने छ, भन्नेमा आशावादी छु पौडेलले भन्नुभयो ।’
युवराज पोख्रेल
हाल वाणगंगा नगर कमिटीमा अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएका युवराज पोखरेल पनि नगर अध्यक्ष पदको दाबेदार हुनुहुन्छ । अध्यक्ष पोख्रेलले अझै एक कार्यकाल आफुले नेतृत्व गर्ने भएकाले आफ्नो नेतृत्वमा सर्वसम्मत नगर कमिटी गठन हुने बताउनुभयो । कम्युनिष्ट स्थापना देखि अहिलेसम्म अनवरत रुपमा खटिएको र संक्रमणको अवस्थामा पनि जिम्मेवारी लिएकाले एक कार्यकाल आफुले नेतृत्व लिने पोख्रेलले बताउनुभयो । पोख्रेलले २०४० सालमा अनेरास्ववियु तत्कालिन कोपवा गाउँ कमिटी सचिव भएर ४ कार्यकाल काम गर्नुभएको थियो । त्यस्तै नेकपा एमाले वडा नम्बर ६ इलाका कमिटी सदस्य, उपसचिव हुँदै सचिव भएर जिम्मेवारी निर्वाह गर्नुभएको थियो । पोख्रेल जिल्ला कमिटी वैकल्पिक सदस्य, सदस्य, सचिवालय सदस्य हुँदै हाल नगर कमिटी अध्यक्ष हुनुहुन्छ ।
पार्टीमा द्धन्द्ध सिर्जना हुँदा अस्थिरता पैदा हुँदा र कमिटी नै बिहिन बन्दा संक्रमणकालिन समयमा आफुले नेतृत्व गरेको पार्टीलाई नगरमा एकजुट बनाउन सफल भएको बताउनुभयो । आफ्नो कार्यकालमा विभिन्न कार्यक्रमका साथै युवाका गतिविधिहरु सक्रिय भएर गरेको र भेलाहरु पनि सम्पन्न गरेको भन्दै अब नेतृत्वले पुनः आफुलाई जिम्मेवारी दिने बताउनुभयो । पार्टीका विभिन्न अभियान संगै यी कार्तिक ६ गते सम्पन्न वडा अधिवेशनमा नगरका सम्पूर्ण वडामा सर्वसम्मत नेतृत्व चयन गर्न सफल भएको बताउनुभयो ।
अध्यक्ष पोख्रेलले यस अघि पनि वडा कमिटी सर्वसम्मत गरेकाले भोलिको नगर अधिवेशन पनि सर्वसम्मत हुने दाबी गर्नुभयो ।
प्रतिक्रिया