पोखरा ।
शनिबार सम्पन्न एमालेको वडातहको निर्वाचनमा लागुऔषध मुद्दाका फरार प्रतिवादीसमेत निर्वाचित भएको पाइएको छ ।
कास्कीको रूपा गाउँपालिका ५ मा ३६ सदस्यीय वडा कमिटी गठन हुने क्रममा लागुऔषध मुद्दामा जिल्ला अदालत तनहुँ बाट ६ महिना कारागार सजाय सुनाइएका मुस्कान पंगेनी सदस्यमा निर्वाचित भएका हुन् ।
पंगेनी २०७७ असार १६ गते प्रहरीले तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजिपबाट तीन साथीसहित पक्राउ परेक थिए ।
प्रहरीले मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग १५ प ६६४० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा पंगेनी र उनका साथीहरूलाई खानतलासी गर्दा प्रहरीले दुई किलो तीनसय ग्राम अवैध गाँजा बरामद गरेको थियो ।
तर, राजनीतिक आडमा उनी ११ दिनमै छुटेको स्रोतले बतायो ।
पछि जिल्ला अदालत तनहुँले उनलाई लागुऔसध मुद्दामा ६ महिना जेल सजाय सुनाएको थियो ।
तर, जेल सजाय भुक्तान गर्नुको सट्टा उनी फरार थिए । फरार रहँदै उनले उच्च अदालत पोखरामा गत भदौ १६ गते पुनरावेदन दायर गरेका थिए ।
उनले पुनरावेदन दायर गरेको गरेको लागुऔषध, गाँजाचरेस मुद्दाको दर्ता नम्बर 078-CS-0314 हो । जसको सोमबार पहिलो पेसीसमेत छ ।
तर, उनै पंगेनी एमालेको वडा सदस्य निर्वाचित भएका हुन् । रूपा ५ को एमाले सचिव साजन खनालले उनी सदस्य निर्वाचित भएको पुष्टि गरे ।
प्रतिक्रिया