१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

नेपालमा पाँच हजार ८९१ स्वास्थ्यकर्मीमा कोरोना, लुम्बिनीका ८ सहित ४० जनाको मृत्यु



काठमाडौं ।
नेपालमा कोरोना महामारी सुरुभएपछि अहिलेसम्म नौ हजार ४९२ स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन भने ४० जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।
बागमती प्रदेशमा सबैभन्दा बढी र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सूचना अधिकारी एवम् सहप्रवक्ता डा समिरकुमार अधिकारीले बताए । संक्रमणका कारण मृत्यु हुने स्वास्थ्यकर्मीको संख्या पनि बागमती प्रदेशमै बढी रहेको छ ।

यस प्रदेशमा हालसम्म पाँच हजार ८९१ जना स्वास्थ्यकर्मीहरु कोरोना संक्रमित भएका छन् भने १२ जनाको सक्रमणकै कारण मृत्युभएको छ ।
यता गण्डकी प्रदेशमा भने अहिलेसम्म कारोना संक्रमणका कारण कुनै पनि स्वास्थ्यकर्मीको ज्यान नगएको डा अधिकारीले बताए । जहाँ अहिलेसम्म ३७४ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।

प्रदेश १ मा एक हजार २९० जना स्वास्थयकर्मी संक्रमित भएका छन् भने पाँच जनाको संक्रमणकै कारण मृत्यु भएको छ । प्रदेश २ मा ५४३ जना संक्रमित भएका छन भने ११ जनाको संक्रमणकै कारण मृत्यु भएको छ । यता गण्डकी प्रदेशमा ३७४ जना स्वास्थ्यकर्मी संक्रमित हुँदा कसैको पनि ज्यान गएको छैन । लुम्बिनी प्रदेशमा ८२३ जना स्वास्थ्यकर्मी संक्रमित हुँदा आठ जनाको संक्रमणकै कारण मृत्यु भएको छ ।

कर्णाली प्रदेशमा ३१७ स्वास्थ्यकर्मी संक्रमित हुँदा दुई जनाको संक्रमणकै कारण मृत्यु भएको छ र सुदूरपश्चिम प्रदेशमा २५४ स्वास्थ्यकर्मी संक्रमित हुँदा दुईको संक्रमणकै कारण मृत्यु भएको डा अधिकारीले बताए।

प्रकाशित मिति : ७ कार्तिक २०७८ आइतबार ००:००  १ : २३ बजे