१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साढे २ अर्बको बुद्ध मूर्ति राखिने



बुटवल ।
गौमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा साढे दुई अर्ब रुपैयाँ मूल्यको १८ सय किलोग्राम तौलको बुद्ध मूर्ति राखिने भएको छ ।
बहुमूल्य धातु ‘ह्वाइट जेड स्टोन’बाट बनेको बुद्धको मूर्ति म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले स्पेनको लुम्बिनी गार्डेन फाउण्डेशनलाई दिएको हो ।

फाउण्डेसनले म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट भैरहवा ल्याएको हो । उक्त मूर्तिलाई शनिबार भैरहवा बजार परिक्रमापश्चात गौतमबुद्ध विमानस्थलमा ल्याएर राखिएको छ ।
६ महीना लगाएर भिक्षुहरुले कुदेको उक्त बुद्ध मूर्ति लुम्बिनी गार्डेन फाउण्डेशनले नेपाल सरकारलाई निःशुल्क हस्तान्तरण गरेको हो ।
एक हजार ८ सय किलोग्राम तौल, १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको बुद्ध मूर्तिको कात्तिक १४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गर्ने कार्यक्रम रहेको छ ।

फाउण्डेसनले विश्वका १६ देशमा यस प्रकारका मूर्ति पठाइएको जनाइएको छ । मूर्ति म्यानमारका खानी उद्योगीले उपलब्ध गराएकाले फाउन्डेसन वा नेपाल सरकार कसैको नगद लगानी भने नभएको फाउन्डेसनका महासचिव एकराज गिरीले बताए । म्यान्मारबाट नेपाल ल्याउँदा लाग्ने ढुवानी खर्च भने फाउन्डेसनले व्यहोरेको हो । मूर्ति १२ हजार अमेरिकी डलर ढुवानी चार्ज तिरेर म्यान्मारबाट नेपाल ल्याइएको हो । भन्सार शुल्क भने नेपाल सरकारले छुट दिएको गिरीले बताए । ‘यो बुद्ध मूर्ति राखेपछि लुम्बिनीको पर्यटन प्रबर्द्धनमा सकारात्मक प्रभाव पर्ने आशा छ,’ सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म न्यौपानेले भने ।

बुद्ध मूर्ति नगर परिक्रमापछि विमानस्थलमा आयोजित कार्यक्रममा बोल्दै संविधान सभा सदस्य इस्तियाक अहमद खाँन, सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्ले, रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ता, लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत भुपेन्द्र पाण्डेयलगायतले विमानस्थल छिटो सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ६ कार्तिक २०७८ शनिबार ००:००  १ : ५२ बजे