काठमाडौं । श्रीमतीको हत्या गर्न उनका श्रीमानले सबैभन्दा विषालुमध्येको सर्प किन्छन् । सर्पले श्रीमतीलाई डसाउँछन् । श्रीमती अस्पतालमा उपचार गरेर ठीक हुँदै गर्दा ती व्यक्तिले अर्को एउटा विषालु सर्प किन्छन् र फेरि डसाउँछन् । यसपटक भने श्रीमतीको मृत्यु हुन्छ
मानिस अपराधको यो हद पार गर्न सक्छ भनेर पत्याउनु हुन्छ ? नपत्याइ सुखै छैन । कुनै फिल्मको बनावटी कथाजस्तै लाग्ने यो सत्य घटना हाम्रै छिमेकी मुलुक भारतको हो ।
सर्पलाई हतियारको रुपमा प्रयोग गरेर तेस्रो प्रयासमा श्रीमतीको हत्या गर्न सफल भएको अपराधको यो दुर्लभ शैली भारत केरलाका सुरज कुमारले अपनाएका हुन् । उनलाई अदालतले आजीवन काराबासको सजायँ सुनाएको छ ।
यसरी गरे हत्या
सुरज कुमारले विश्वकै विषालुमध्येको एक गोमन सर्प ७ हजार भारुमा खरिद गरेका थिए । भारतमा सर्पको व्यापार अवैध छ । त्यसैले सुरजले दक्षिणी राज्य केरलाका सपेरा सुरेश कुमारसँग गोप्य रुपमा पाँच फिट लामो गोमन सर्प खरिद गरेका थिए । उनले प्लास्टिकको एउटा भाँडोमा राखे । भाँडोभित्र सर्प नमरोस् भनेर उनले हावा छिर्ने सानो प्वाल पनि बनाएका थिए । सर्प बोकेर उनी ४४ किलोमिटरको टाढा रहेको आफ्नो ससुराली गए ।
सर्पलाई राखिएको भाँडोको अनुसन्धान गर्दै एक अनुसन्धान अधिकृत
त्यहाँ उनकी पत्नी उत्तरा पहिलेदेखि थिइन् । उत्तरा सर्पले डसेको उपचारको सिलसिलामा माइतीमा थिइन् । सर्पले पहिलोपटक डसेपछि उनी उपचारको लागि ५२ दिनसम्म अस्पताल बसेकी थिइन् । अस्पतालबाट डिस्चार्ज भएपछि उनी माइत गएकी थिइन् । सुरुमा उनलाई रसेल वाइपर नामक विषालु सर्पले डसेको थियो । त्यसको उपचारका लागि उनको खुट्टामा तीन पटक अपरेशन गर्नु परेको थियो ।
गत मे ६ तारिखको दिन राति सुरजले श्रीमती उत्तरालाई एक गिलास जुस खान दिए । त्यो जुसमा उनले बेहोस हुने औषधि मिसाएका थिए । उत्तरा बेहोस् भएपछि उनले गोमन सर्पलाई झोलाबाट निकाले र श्रीमतीको शरीरमाथि खसालिदिए । तर सर्पले उत्तरालाई डसेन । सुरजले भाग्न खोजेको त्यो सर्पलाई फेरि समातेर श्रीमतीतिर फ्याँके । यसपटक पनि सर्पले डसेन ।
सुरजले तेस्रो पटक प्रयास गरे । यसपटक भने उनले सर्पको गर्धनमा समातेर उत्तराको वायाँ हाततर्फ लगे । रिसाएको त्यो गोमन सर्पले यसपटक भने उत्तरालाई डस्यो । त्यसपछि उनले त्यो सर्पलाई त्यही भाँडोभित्र बन्द गरेर राखे । जुस पिलाएको भाँडो सफा गरे, सर्पलाई चलाउन प्रयोग गरेको लठ्ठी नष्ट गरे, आफ्नो मोबाइलको कल रेकर्ड डिलिट गरे अनि श्रीमती सुतेकै कोठामा सुते ।
अर्को दिन बिहानपख उत्तराकी आमा कोठाभित्र आउँदा उत्तरा ओछ्यानमा सुतिरहेकी थिइन् । उत्तराको मुख खुल्लै थियो र बायाँ हात एकातर्फ झुण्डिरहेको थियो । परिवारका सदस्यहरुले उत्तरालाई अस्पताल पुर्याए । तर डाक्टरहरुले उनको मृत्यु भइसकेको घोषणा गरे ।
उत्तराको मृत्यु भएको कोठा
पोष्टमार्टम रिपोर्टबाट पत्ता लाग्यो कि उत्तराको मृत्यु विषको कारण भएको छ । अस्पतालले प्रहरीलाई फोन गरेर जानकारी दियो । त्यसपछि थप अनुसन्धानको क्रममा उत्तराको मृत्युको कारण सर्पको विष र बेहोस बनाउने औषधि भएको पत्ता लाग्यो ।
उत्तराका आमा–बुवाले मृत्यु असामान्य भएको भन्दै अनुसन्धानका लागि प्रहरीमा निवेदन दिए । प्रहरीले सोधपुछका लागि उनकै श्रीमान सुरजलाई पक्राउ गर्यो । ७८ दिन लामो अनुसन्धानबाट पत्ता लाग्यो कि सुरजले नै आफ्नी श्रीमतीलाई सर्पले डसाएर हत्या गरेका हुन् ।
हत्याको योजना
सुरज र उत्तराबीच एक मेट्रोमोनियल ब्रोकरमार्फत चिनजान भएको थियो । सुरजका बुवा अटो रिक्सा चालक थिए र आमा गृहिणी थिइन् । उत्तरा सुरजभन्दा तीन वर्ष कान्छी थिइन् । उनी नयाँ कुरा सिक्न गाह्रो हुने ‘लर्निङ डिसएबिलिटी’बाट पीडित थिइन् ।
उत्तरा सम्पन्न परिवारकी थिइन् । उनका बुवा रबरको ब्यापारी थिए र आमा स्कुलको प्रिन्सिपलबाट सेवा निवृत्त भएकी थिइन् ।
सुरज र उत्तराबीच बिहे हुँदा सुरजले ७६८ ग्राम सुन, एक सुजुकी सेडान कार र चार लाख भारु नगद दाइजोस्वरुप लिएका थिए । त्यसबाहेक पनि उत्तराको हेरचाहका लागि भनेर उनका आमा–बुवाले हरेक महिना आठ हजार भारु अतिरिक्त दिंदै आएका थिए ।
अनुसन्धान अधिकृतहरुका अनुसार सुरजले एक वर्ष अगाडिदेखि नै श्रीमतीको हत्या गर्ने योजना बनाएका थिए । सोही योजनाअनुसार चार महिनाको अवधिमा श्रीमतीको हत्या गर्न तीन पटक कोसिस गरेका थिए ।अनलाइन खबरबाट ।
प्रतिक्रिया