बुटवल ।
रुपन्देहीको मणिग्रामको बहुचर्चित सीता भण्डारी पौडेल आत्महत्या प्रकरण ११ लाखको लेनदेनमा अन्त्य भएको छ।
गत भदौ २० गते बिहान मृत अवस्थामा फेला परेकी तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्रामकी सीता भण्डारी पौडेलको आत्महत्या हो कि हत्या भन्ने विवाद लम्बिँदा डेढ महिनासम्म अन्त्येष्टि हुन सकेको थिएन।
भण्डारीको मृत्यु भएको ४६ दिनपछि मात्रै माइती पक्षले पौडेल परिवारबाट ११ लाख रुपैयाँको चेक बुझेपछि बुधबार अन्त्येष्टि गर्न सहमति दिएका थिए।
तिलोत्तमा नगरपालिका र बुटवल उपमहानगरपालिकाको सीमा क्षेत्रमा रहेको मगरघाटमा माइती पक्ष समेतको सहभागितामा बुधबार अन्त्येष्टि गरिएको रुपन्देही प्रहरीले जनाएको छ।
तिलोत्तमा नगरपालिका १७ गंगोलियामा रहेको मध्यस्थकर्ताको घरमा भएको लिखित सहमतिअनुसार सीताका ससुरा देवी पौडेलले सीताका भाइले भिनाजु टीका पौडेल लाई दिएको सापटी एक लाख रुपैयाँ र विवाह गर्दा लागेको खर्च बापतको १० लाख रुपैयाँको चेक दिएका थिए।
मंगलबार गरिएको लिखित सहमतिमा भण्डारी परिवारले विवाह गर्दा लागेको खर्च १० लाख र सापटी दिएको एक लाख गरी ११ लाख रुपैयाँ बुझ्ने र आगामी दिनमा अदालती प्रक्रियामा कुनै हस्तक्षेप हुने गरी आन्दोलन नगर्ने सहमति गरिएको स्रोतले बताएको छ।
गत भदौ २० गते बिहान आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेकी सीताको न्यायको लागि भन्दै ‘जस्टिस फर सीता भण्डारी’ भन्ने अभियान सञ्चालन गरेर आन्दोलन चलाइरहेका अभियन्तासमेत अलमलमा परेका छन्।
‘आन्दोलनका बेला अभियन्तासँग सल्लाह गरेरमात्रै अन्त्येष्टि गर्न अनुमति दिन्छौं भनेका भण्डारी परिवारले गुपचुपमा पैसा लिएछन्,’ आन्दोलनमा सहभागी एक अभियन्ताले भने।
प्रहरीले अनुसन्धानको क्रममा सीताको मोबाइलबाट ‘।।।मलाई माफ गरिदिनुहोला, मेरो अर्को जुनी भयो भने म हजुरहरूकै काखबाट जन्मिन चाहन्छु, मलाई यो जिन्दगीबाट पुग्यो। म सकिनँ बाँच्न’ भनी लेखिएको सुसाइड नोट फेला परेको भए पनि माइती पक्षले आत्महत्या नभई हत्या भएको दाबी गर्दै करिब १ महिना आन्दोलन गरेका थिए।
मृतकका बुवा हरिप्रसाद भण्डारीले जाहेरी दिएपछि सीताका श्रीमान टीका पौडेल आमाजु दिदी बिष्णु पौडेल र जेठाजु हरिप्रसाद पौडेल आत्महत्या दुरूत्साहन मुद्दामा पुर्पक्षका लागि थुनामा गएका छन्।
२७ वर्षीया सीता आफ्नै घर कोठामा मृत अवस्थामा फेला परेको सम्बन्धमा केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा अनुसन्धान भएको थियो।
प्रतिक्रिया