१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मेटमणिको भविष्यवाणीः केपी ओली झापाबाटै बढारिन्छन्




काठमाण्डौँ ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित (बढारिने)हुने बताएका छन् ।

ओली पार्टी र प्रवृत्तिका विरुद्ध एकीकृत समाजवादी स्थापना भएकाले देशभर नेकपा एमाले हराउने चौधरीले बताए । एकीकृत समाजवादी गुल्मीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै नेता चौधरीले ओली प्रवृत्तिका कारण कम्युनिस्ट आन्दोलन र पार्टी समाप्त हुने स्थिति आएकाले नयाँ पार्टी स्थापना गर्नुको विकल्प नभएको बताए ।

उनले केपी ओलीसहितका एमाले नेता जनतासँग भोट माग्न गाउँ आउने कुनै नैतिक आधार नभएकाले केपीको झापादेखि गोकर्ण र प्रदीपका गुल्मीका निर्वाचन क्षेत्रसमेत समाजवादीमय हुने दाबी गरे ।

केन्द्रीय सदस्य राज्यलक्ष्मी गैरेले आफूहरूलाई एमालेको माया भए पनि केपी प्रवृत्तिले नयाँ विकल्पको सिर्जना गरेको बताइन् । जीवनको राजनीतिक ऊर्जा एमालेमै सकिए पनि ओलीवादले देशको लोकतन्त्र र संविधानसँगै पार्टी समाप्त पारेपछि एकीकृत समाजवादी स्थापना गरिएको गैरेको भनाइ थियो ।

प्रकाशित मिति : १ कार्तिक २०७८ सोमबार ००:००  ७ : १५ बजे