दाङ ।
दाङमा पाक्नै लागेको धानबालीमा लगातार परेको पानीले ठूलो क्षति पुर्याएको छ । गएरातिदेखि परेको लगातारको पानीले पाकेको धान सखाप पारेपछि किसान चिन्तित भएका छन् ।
लगातारको पानीले खेतको धानसँगै अन्य बाली साथै तरकारीमा समेत क्षति पुर्याएको किसानले बताएका छन् । तुलसीपुर १२ का स्थानीय बन्धु चौधारीका अनुसार पानीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ हेमनगर जस्पुर क्षेत्रमा लगाएको खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी भिजेको छ । वर्ष भरी खाने धान काटेको दुई दिनमा खेतमा पानी भरिएकाले कतै धान झर्ने हो कि भन्ने चिन्ता लागेको चौधरीले बताए ।
लगातारको कात्तिके झरीले किसानलाई बाँकी रहेको धान पनि कसरी भित्र्याउने भन्ने समस्याले पिरोलेको छ । कतिपय ठाउँमा काटेको धान खेतमै भिजेको छ भने कतै पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्था पुगेको छ ।
प्रतिक्रिया