१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

अविरल वर्षाले कपिलवस्तुको धानबालीमा असर, चिन्तामा किसान



मायादेवी अनलाइन, वाणगंगा ।
आइतबार देखि आएको हावाहुरी सहितको अविरल वर्षाले पाकेर काट्न तयारी अवस्थामा रहेको र काटिसकेको धानखेतमा क्षती पुर्‍याएको छ । धान काटेर खेतमै सुकाएको अवस्थामा परेको अविरल बर्षाले धानबालीमा क्षति गरेको हो भने, पाकेको धानखेतमा बर्षाले डुबान गरेको छ । वेगले आएको हावाहुरीले पाकेको सबैजसो धान ढलाएको छ ।

‘शनिबार मात्र धान काटेर खेतमा राखेका थियौ । आज या भोलिमा उठाउने तयारी थियो तर, एक्कासी ठूलो पानी पर्दा खेतमा रहेको धानमा नोक्सान गर्‍यो बनगाईका किसान पुनाराम खनालले गुनासो गर्दै भन्नुभयो ।’

यस वर्ष समयमै वर्षा भएका कारण धान पनि राम्रो थियो । धान भित्राउने समयमा पानी पर्दा नोक्सानी धेरै हुने भयो उहाँले भन्नुभयो ।

वाणगंगा ४ झुंगा निवासी खिमानन्द न्यौपानेले पाकेको धान बर्षाले डुवानमा पारेको सुनाउनुभयो । ‘हावाहुरी सहितको बर्षा आएपछि पाकेको धान सबै ढलेको छ । खेत पोखरीमा परिणत भएको छ ।’

आइतबार देखि जिल्लामा हावाहुरीसहित अविरल बर्षा भैरहेको छ । जसको कारण पाकेर लटरम्म परेको धानबालीमा नराम्रोसंग क्षति गरेको छ ।

समयमै पर्याप्त वर्षा हँुदा समयमै धान रोप्न पाएर खुसी भएका किसानहरु धानबाली स्याहार्ने बेला तनावमा परेका छन ।

आइतबार देखि परेको हावाहुरीसहितको बर्षाले कपिलवस्तुमा विद्युत र इन्टरनेट पनि अवरुद्ध भएको छ । आइतबार बेलुका देखि जिल्लामा गएको विद्युत सोमबार अपराह्नपख आएको छ ।

मौसमविदहरुले अझै केही दिन मौसम यस्तो हुने बताएका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७८ सोमबार ००:००  ३ : २८ बजे