१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

त्रिभुवन विमानस्थलमा पर्यटनमन्त्री आलेको छड्के, अलपत्र परेका यात्रुको गरे उद्धार



काठमाडौं ।
संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेले नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छड्के अनुगमन गरेका छन् । आइतबार भोजपुरका लागि उडेको नेपाल एयरलाइन्सको विमानले आधा यात्रु लैजाने आधा विमानस्थलमै छाडेर हिडेपछि मन्त्री आलेले आकस्मिक छड्के जाँच गरेका हुन् ।

मन्त्री आलेकै पहलमा छुटेका बालबच्चा सहितका ७ यात्रुलाई सोमबार विहानको उडानबाट भोजपुर पठाइएको छ । नेपाल एयरलाइन्सको लापरवाहीका कारण यात्रुहरु छुट्न गएको प्रारम्भिक अनुगमनमा देखिएको बताउँदै मन्त्री आलेले सम्बन्धित निकायलाई अनुसन्धान गरि दोषीलाई कारबाही गर्न निर्देशन दिएका छन् ।

मन्त्री आलेले अनुगमनका क्रममा विमान छुटेर अलपत्र परेका यात्रु तथा विमानस्थलका कर्मचारीहरुसँग डोमेस्टिकको टर्मिनल भित्रै छलफल गरेका थिए । अनुगमनपछि संचारकर्मीसँग कुरा गर्दै मन्त्री आलेले भने, ‘विभानस्थलमा धेरै कमिकमजोरी देखें । ट्याक्सीमा जथाभावी भाडा लिने, कफि सपमा महंगो मूल्य असुल्ने देखिएको छ । यसलाई नियमन गर्नुपर्दछ । भोजपुरमा उडेको विमान आधा उडाउने आधा छोडेर जाने भनेको लापरवाही देखियो । गल्ती गर्नेलाई कारबाही गर्न निर्देशन दिएको छु । राष्ट्रिय ध्वजावाहकको सेवा उत्कृष्ट हुनुपर्छ ।’

मन्त्री आलेले आफूले मन्त्रालय सम्हाल्ने वित्तिकै पहिलो निर्णय नै नेपाल एयरलाइन्सको सुधारका लागि अनलाइन टिकट काट्ने व्यवस्था मिलाउने निर्णय गरेको जानकारी दिदै भने, ‘म मन्त्री भएसम्म नियमित अनुगमन गर्छु र सुधारको प्रयास गर्छु । अनलाइन टिकट सेवा सजिलो र सस्तो हुन सक्छ । विमानस्थलमा विकृति र फोहोर छ । यसलाई सुधार गर्नेछु ।’

मन्त्री आलेले साँघुरो विमानस्थलको विकल्पमा विमानहरु क्षेत्रिय विमानस्थलमा पार्किङ गर्ने तयारीमा समेत सरकार लागेको जानकारी दिए ।

प्रकाशित मिति : १ कार्तिक २०७८ सोमबार ००:००  ३ : १७ बजे