मायादेवी अनलाइन, कृष्णनगर ।
शान्ति सुरक्षामा अत्यन्तै संवेदनशील मानिएको कपिलवस्तुको कृष्णनगरमा सुरक्षा घेरामा दुर्गा भगवतीको मूर्ति शनिबार विसर्जन गरिएको छ । विजयादशीको नवरात्रीको पहिलो दिन नै कृष्णनगरमा दुर्गा भगवतीको मूर्ति प्रदर्शनका लागि निकालिएको थियो।
कृष्णनगर बजार क्षेत्रमा यस वर्ष एक दर्जन मूर्ति निकालिएको थियो । कृष्णनगरमा मूर्ति विसर्जनका क्रममा विगतका वर्षहरुमा साम्प्रदायिक घटना भएको थियो । २०७६ सालमा त्यहाँ मूर्ति विसर्जनका बेला एक जनाको मृत्यु हुनको साथै कैयौ घाइते भएका थिए ।
२०७७ सालमा कोरोनाका कारण निकै कम मूर्ति निकालिएको थियो । यस वर्ष फेरि संभावित घटनालाई रोक्न कृष्णनगर बजार क्षेत्र देखि मूर्ति सेलाउने स्थान सुरई नदीसम्म ठूलो मात्रामा प्रहरी परिचालन गरिएको थियो ।
शनिबार बिहानै प्रजिअ चक्रपाणी पाण्डे, प्रहरी उपरिक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी उपरिक्षक डिबि कार्की, प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीसहितको टोली समेत कृष्णनगर पुगेका थिए ।
शनिबार कृष्णनगर क्षेत्रमा मूर्ति विसर्जनका क्रममा नेपाल र सशस्त्र प्रहरी गरी ३ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी उपरिक्षक कार्कीले बताए । यस वर्ष पनि त्यहाँ हुन सक्ने संभावित घटनालाई मध्यनजर गरी नवरात्र भर त्यहाँ ठूलो मात्रमा प्रहरी परिचालन गरिएको प्रहरी उपरिक्षक कार्कीले बताए ।
कृष्णनगरमा हुन सक्ने संभावित दंगालाई रोक्न मूर्ति विसर्जन दिउँसो ४ बजे नै गरी सक्नु पर्ने नगर प्रमुख रजत प्रताप शाहसहितको सर्वपक्षीय समितिले निर्णय समेत गरेको थियो
यस्तै बिहीबार भारतको नौगढमा भएको दुई देशका सुरक्षा अधिकारीहरुको बैठकमा सीमा क्षेत्रमा असोज २९ र ३० गते मदिरा बिक्री वितरणमा समेत रोक लगाउने निर्णय गरेको थियो । मूर्ति विसर्जन शान्तपूर्वक सम्पन्न गर्न कृष्णनगर क्षेत्रमा सिसि टिभिले समेत निगरानी गरिएको थियो । प्रजिअ चक्रपाणी पाण्डेले मूर्ति विसर्जनका क्रममा हुन सक्ने संभावित झडप र घटनालाई रोक्न जिल्लाभर शान्ति सुरक्षालाई मजबुत पारिएको बताए।
मूर्ति विसर्जनका क्रममा कही कतै अप्रिय घटना नभएको उनले बताए । कृष्णनगरका मेयर रजत प्रताप शाह मूर्ति विसर्जनमा आफै सहभागी भएका थिए । उनले सबैको प्रयासले यस वर्ष कृष्णगनरमा शान्तपूर्वक मूर्ति विसर्जन भएको बताए।
प्रतिक्रिया