मायादेवी अनलाइन, वाणगंगा ।
उपचारका क्रममा भारतको एक अस्पतालमा निधन हुनुभएका नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता चन्द्रबहादुर चन्द ‘विरजंग’ को शनिबार अन्त्येष्टि गरिएको छ । ६१ बर्षीय विरजंगको भारतको दिल्लीस्थित म्याक्स अस्पतालमा निधन भएपछि उहाँको शव आफ्नै निवास कपिलवस्तुको शिवगढीमा ल्याइएको थियो ।
शिवगढीमा उहाँको पार्थिव शरीरमाथि श्रद्धाञ्जली व्यक्त गर्न हजारौं शुभेच्छुक पुगेका थिए ।
पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा केन्द्रिय सदस्य रहनुभएका विरजंग पार्टी महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’का सहोदर दाई हुनुहुन्थ्यो ।
पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकको साथमा सुरही नदीमा शनिबार अन्तिम दाहसंस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
२०१७ साल फागुनमा रोल्पाको इरिबाङमा जन्मनु भएका उहाँ १० बर्ष जनयुद्धमा लड्नु भएको थियो ।
पञ्चायत विरोधी आन्दोलनमा पनि विरजंगले नेतृत्वदायी भूमिका खेल्नुभएको थियो ।
स्वास्थ्यमा समस्या देखिएपछि भरतपुरमा उपचारका लागि भनेर उहाँलाई विसं २०७७ असोज २८ गते चितवन कारागार ल्याइएको थियो । अघिल्लो पटक कोभिड १९ संक्रमण भई कमजोर बन्नुभएका उहाँलाई घाँटी र पेटमा समस्या देखिएको थियो । उहाँलाई गत वैशाखमा थुनामुक्त गरिएको थियो ।
०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमा कपिलवस्तु क्षेत्र नं. १ मा उम्मेदवार बन्नुभएका विरजंगले १० हजार बढी मत पाउनुभएको थियो ।
दोस्रो संविधान सभा निर्वाचन ०७० मा चुनाव वहिस्कार गरी तत्कालिन मोहन बैद्य ‘किरण’ नेतृत्वको नेकपा–माओवादीमा लाग्नुभएको थियो । पछि माओवादीबाट विद्रोह गरी नेपाल कम्युनिष्ट पार्टी गठन गरी उहाँले पार्टी भित्र प्रभावशाली नेताको भूमिका निभाउनुभएको थियो ।
प्रतिक्रिया